यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने सम्भावित दाबेदारहरु
काठमाडौँ । हिजो बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्तार ढिलो हुँदा आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दललाई मन्त्रीको सूची दिन भनेका थिए ।
तर, गठबन्धन आबद्धमध्येकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतमा दल विभाजनसम्बन्धी मुद्दा रहेकाले टुंगो लागेपछि मात्रै नाम दिने बताएका हुन् । हिजो बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले भने बिहीबार नै मन्त्रिपरिषद् विस्तार हुने भन्दै ब्रिफिङ गरेका थिए ।
सरकारलाई सहजीकरण गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनाइएको कार्यदलले भने मन्त्रालय भागबन्डामा सहमतिको गृहकार्य गरिरहेको छ । स्रोतका अनुसार सो कार्यदलले कांग्रेसलाई ७ मन्त्री, माओवादी केन्द्रलाई ६ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसलाई ५ मन्त्री र एक राज्यमन्त्री, जसपालाई ४ मन्त्री र एक राज्यमन्त्री दिने गरी सहमतिको प्रयास गरिरहेको हो ।
नेकपा माओवादी केन्द्रमा धेरै सांसदले मन्त्री बनाउन दबाब दिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रमा नै मन्त्री बन्न धेरैले दबाब दिएको बताएका थिए ।
माओवादीले सरकारमा पठाउने मन्त्रीहरुको सूचीबारे छलफल शुरु गरेको छ । माओवादीको बुधबार बसेको स्थायी समिति बैठकलगत्तै प्रवक्ता कृष्णबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताउँदै बिहीबार नै माओवादीबाट मन्त्री हुनेहरूको नाम टुंगो लगाउने बताएका थिए ।
दाहालले सरकारमा पठाउने मन्त्रीहरूको नामबारे पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । शेरबहादुर देउवा नेतृत्व सरकारमा माओवादीले ६ मन्त्रालय र एक राज्यमन्त्री पाउने लगभग टुंगो लागिसकेको छ । तर कुन कुन मन्त्रालय पाउने भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन ।
माओवादी केन्द्रमा अहिले ७ जना सांसदहरू मन्त्रीका लागि दाबेदार रहेका छन् । प्रचण्ड निकट स्रोतका अनुसार माओवादीवाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुदन किराती, महेश्वर गहतराज, हरि चौधरी र अमनलाल मोदीको मन्त्री बन्ने प्रवल सम्भावना रहेको छ ।
देउवा सरकार गठन भएको लगभग डेढ महिना बितिसक्दा हालसम्म प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । माओवादी केन्द्रबाट देउवा नेतृत्व सरकारमा अहिलेसम्म जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री रहेका छन् ।