महन्थ ठाकुरको दावी : जसपा हाम्रो आधिकारिक पार्टी हो
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा आफूहरुको आधिकारिक पार्टी भएको दाबी गरेका छन् । पछिल्लो समयमा जसपा थप बलियो भएको बताउँदै उनले अरुले केही संख्या देखाउँदैमा आधिकारिकताको दावी गर्न नमिल्ने धारणा राखे ।
जसपा ठाकुर पक्षको वाग्मती स्तरीय अगुवा कार्यकर्ता भेलालाई हिजो सम्बोधन गर्दै उनले पहिचानका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिए । अहिलेको संघीयता पहिचानको आधारमा नरहेको उल्लेख गर्दै उनले त्यसलाई सच्याउनका लागि संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे ।
ठाकुर पक्षले उत्पीडन र बहिर्गमनमा परेका तमाम जनसमुदायको अधिकार र पहिचानका लागि सङ्घर्ष प्रभावकारी बनाउने घोषणा गरेको छ । ठाकुर पक्षका शीर्षथ नेताहरूले पार्टीलाई सुदृढ र सङ्गठित गर्दै उत्पीडित समुदायको मुक्तिका लागि क्रियाशील हुने बताएका हुन् ।
जसपा आफूहरूले दुःख गरेर बनाएको पार्टी भएकाले कार्यकर्ता र सङ्गठन बलियो भएको उनीहरूको दाबी छ । जसपाका अध्यक्ष ठाकुरले समावेशी लोकतन्त्रका लागि लामो समयदेखि सङ्घर्षरत जसपा पिछडिएका र बहिस्करणमा परेका समुदायको अधिकार र पहिचानका लागि थप सक्रिय भएर अगाडि बढ्ने बताए ।
जातजाति, भाषा, धर्मआदि विषयमा बहिर्गमनमा परेको समुदायको उत्थानका लागि राज्यको पुनःसंरचना गरी पहिचानको आधारमा विभेदरहित सुशासनका लागि पार्टी प्रयत्नरत रहेको उनको भनाइ छ । अध्यक्ष ठाकुरले अहिलेको सङ्घीय प्रणाली पहिचानको आधारमा नरहेको भन्दै वर्तमान संविधानमा रहेका कमजोरीलाई संशोधन गरेर पहिचानको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताएका छन् ।
यसअघि आफूहरु विशेष परिस्थितिमा सरकारमा गएको बताउँदै उनले सरकारलाई चाँडो पूर्णता दिएर कोभिड–१९ का लागि खोप उपलब्ध गराउन पनि माग गरे । ठाकुरले जसपा नेपाल उत्पीडनमा परेका जनताको पहिचानका लागि संघर्ष गरिरहेको हुनाले त्यसलाई कमजोर नठान्न पनि आग्रह गरे ।