माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको बताए ।
ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको बताउंदै भने, ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ। १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’
‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’
बैठकले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६(५) लाई सच्याउन संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन जुटाएका देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिँदा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि विश्वास जनाएका कारण दल त्यागसम्बधी कारबाही गर्न नपाउने फैसला गरेको थियो ।