प्रतिनिधिसभाको बैठकमा एमालेको नेपाल समूहका सांसद प्रतिपक्षमै बस्ने
काठमाडौं । दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा एमालेको माधव नेपाल समूहका सांसद प्रतिपक्षमै बस्ने भएका छन् ।
कांग्रेस सभापति समेत रहेका शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालसहित एमालेका २३ जना सांसद आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी बेञ्चमै बस्ने भएका हुन् ।
आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाल समूहले आफ्नै घरमा आगो लगाएर खरानी बनाएपछि यसअघि सत्तापक्षमा रहेको एमाले आजदेखि प्रमुख प्रतिपक्ष बन्न पुगेको छ ।
नेपाल समूहमा केही सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । एमाले सांसद विरोध खतिवडा, रामकुमारी झाक्री र मेटमणि चौधरीले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएका छन् ।
यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुने भएकोले नेपाल समूहका सांसदले पनि देउवालाई विश्वासको मत दिने भएका हुन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताएका हुन् ।
तर एमाले एकताका लागि गठित कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू भने देउवालाई विश्वासको मत दिने पक्षमा छैनन् । यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ ।
एमालेका नेपाल समूह प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको हो । स्रोतका अनुसार अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गरिएको हो ।
एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले सशक्त प्रतिपक्षी भूमिकामा रहने र गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । आज बसेको स्थायी कमिटी बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतार-हतार विश्वासको मत लिन खोजिएको ठहर गरेको हो ।
आज बसेको बैठकले नेपाल अब एमालेमा नफर्किने निष्कर्ष निकालेको छ । तर, १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय बैठकले गरेको छ ।उनले पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिने सांसदहरु आजको दिनदेखि एमाले नरहने बताए ।