११ देशका लागि राजदूत नियुक्ति सिफारिस खारेज गर्ने निर्णय
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका लागि नेपाली राजदूत नियुक्ति सिफारिस खारेज गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती ओली सरकारले गरेका राजदूत नियुक्तिसम्बन्धि निर्णय रद्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । केपी ओली सरकारले ११ देशका लागि राजदूत सिफारिस गरेको थियो ।
ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त गरेको थियो ।
यस्तै रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो ।
यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने खारेज नभएको हो । संसद् विघटन गरेका कारण संसदीय सुनुवाइ बिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो ।
ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको हो । कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनको नियुक्ति खारेज गरेको थियो ।