रामचन्द्रलाई शेखरको सुझाव : म सभापति बन्छु, तपाईं प्रधानमन्त्री बन्नूस्
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई समर्थन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।
स्रोतका अनुसार सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ । ‘उहाँहरु दुबै जना सभापतिको आकांक्षी हुनुहुन्छ, दुबैले एकअर्कालाई सहयोग गर्न आग्रह गरे,’ स्रोतले भन्यो।
“रामचन्द्र दाइले एकपटक कांग्रेसको सभापति बन्ने इच्छा छ, यो पटक मलाई सहयोग गर्नुस् भनेर शेखरसँग आग्रह गर्नुभयो तर शेखरले तपाईं प्रधानमन्त्री बन्नूस्, म सभापति बन्छु भन्नुभयो ।’ स्रोतले भन्यो।
कोइरालाले पौडेललाई भनेका छन्, “तपाईंहरुको उमेर, अनुभव र निष्ठाको राजनीतिका कारण प्रधानमन्त्री बनेर योगदान दिनुस्, तपाईंलाई आउने आम निर्वाचनमा पार्टीकातर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढाउन तयार छु ।”
शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिने बताइसकेका छन् भने संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।