एमाले प्रवक्ताको विज्ञप्ति : वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानुन आकर्षित हुन सक्छ
काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्सेस कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएपछि नेकपा एमालेले सांसद वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ ।
आज शनिबार एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्नेबारे कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् ।
प्रवक्ता ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’
देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई संसदीय मर्यादाको समेत ख्याल नगरी सांसदले दिएको अभिव्यक्ति खेदजनक छ । महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिँदै उनले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्नु क्षमायोग्य छैन । उनलाई हदैसम्मको कारबाही हुन जरुरी छ ।