\
राजनीतिहेडलाइन

सिंहदरबारमै ओली र नेपालबीच ‘वान टू वान’ वार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा ‘वान टू वान’ वार्ता जारी रहेको छ ।

बालुवाटार स्रोतका अनुसार ओली र नेपाल कार्यदल गठनको लागि आज दिउसो साढे १ बजेदेखि भेटवार्ता भएको हो । स्रोतका अनुसार नेता नेपालले भेटको लागि ओलीलाई आफ्नै निवास कोटेश्वरमा बोलाएका छन् ।

तर ओलीले फेरि सिंहदरवारमै भेट्न गरेको आग्रह नेपालले स्वीकार गरेका हुन् । आजको भेटवार्तामा कार्यदलका सदस्यहरुको नाम टुँगो लाग्ने बुझिएको छ । नेपालले आफ्नो तर्फबाट कार्यदलमा बस्ने नेताहरुको नाम भने ओलीलाई बुझाईसकेका छन् ।

दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा ओली र नेपालबीच आज सिंहदरबारमा भेटवार्ता जारी रहेको हो । अध्यक्ष ओली र नेपालले कार्यदल गठन गरी विवाद समाधानको उपाय निकाल्ने तयारी गर्दै आएका छन् ।

नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने नेता नेपाल पक्षको अडानलाई कसरी सम्बोधन गर्न भन्ने विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुँदै आएको छ ।

अस्ति बैशाख ३१ गते शुक्रबार एमालेका अध्यक्ष ओली र नेपाल समूहवीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा करिब पौने ३ घण्टा वार्ता भएको थियो । एमालेका दुई समूहको सो वार्तामा अध्यक्ष ओली पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएसंगै वार्ता सकारात्मक ढंगले टुंगिएको थियो ।

पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको थियो । सहमतिमा पुग्न लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बसेर कार्यदल टुंग्याउने भएकोले आज निर्णायक वार्ता जारी रहेको हो ।

Leave a Reply