यस्ता छन् आज एमाले स्थायी समितिले गरेका चार निर्णयहरु
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । पार्टी एकताको रक्षाका लागि कारबाही फिर्ता लिइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।
पार्टीलाई एक बनाउन अध्यक्ष ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो । पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको हो ।
१. बुधबार निधन भएका एमाले नेता एवं बाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाईको सम्मानमा तीन दिन पार्टीका झण्डा आधा झुकाउने निर्णय गरेको छ। चौलागाईको बुधबार कोरोना संक्रमणबाट निधन भएको थियो ।
२. पार्टीको एकतालाई ध्यानमा राखी एमाले स्थायी समितिको आजको बैठकले पार्टीका नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फिर्ता लिने निर्णय गरेको हो ।
३. साथै देशको वर्तमान राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी ओलीलाई दिएको बताइएको छ । स्थायी समिति बैठकले अहिलेको अवस्थामा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ। एमाले भित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई प्रत्यायोजन गरेको हो।
४. कोभिड–१९ का कारण उत्पन्न असहज स्थितिमा अक्सिजनको पर्याप्त, प्रभावकारी र नियमित आपूर्ति तथा खोप लगायत जीवनरक्षक औषधिहरूको प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको छ। यसका लागि मित्र राष्ट्रहरूसँग कूटनीतिक पहल गर्न पनि सरकारलाई सुझाव दिएको छ।