जसपाको बैठक निष्कर्षविहीन : शीर्ष नेताहरूबीच नै चर्काचर्की
काठमाडौं । नयाँ सत्ता समीकरणको निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको बैठकमा शीर्ष नेताहरूबीच नै चर्काचर्की भएर विना निष्कर्ष टुंगिएको छ ।
ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले सत्ता समीकरणबारे भोलिसम्म थप छलफल गरेर एकीकृत निर्णय गर्ने निष्कर्ष निकालेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।
पार्टीमा वैकल्पिक सरकार गठनका विषयमा विभिन्न विकल्पबारे विचार आइरहेको र छलफल भइरहेको जानकारी उनले दिए । लोकतान्त्रिक पार्टी भएकाले फरक-फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी रहेकाले भोलि विहिबारसम्म पार्टीको एकीकृत आधिकारिक धारणा आउने जानकारी दिए ।
नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई धारमा विभाजन भई महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारकै निरन्तरता चाहेर नयाँ सरकार गठनको विपक्षमा छन् भने यादव र डा. भट्टराई ओली सरकारलाई हटाएर नयाँ सरकार गठनको पक्षमा देखिएका छन् ।
प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकेपछि वैशाख २७ गते राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई भोलि वैशाख ३० गते बिहीबार साँझसम्मको समयसीमा दिएकी छन् ।