माधव नेपालसँग निर्णायक वार्ता गर्न ओलीले पठाए दूतको रुपमा दुई नेता
काठमाडौं । विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा समानान्तर गतिबिधि गर्दै आएका अर्का बरिष्ठ नेता माधव नेपालसँग निर्णायक वार्ता गर्न दूतको रुपमा दुई नेता पठाएका छन् ।
एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला पार्टीलाई पुन: एकताबद्ध बनाउन ओलीले आफ्नो समूहबाट नेपालसँग वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएका छन् ।
ओलीले नेपालसँग निर्णायक अन्तिम वार्ता गर्न भनेर पठाएपछि दुवै नेता अहिले सिंहदरबार पुगेपछि कुनै चमत्कारिक शक्तिले नेकपा विभाजन हुनवाट जोगिने हो की भन्ने झिनो आशा नेकपाका नेता तथा कार्यकर्तामा पलाएको छ ।
नेपाल समूहले आज दिउँसो १२ बजेतिर भर्चुअल माध्यमबाट बैठक स्थायी समितिको बैठक बोलाएर थप औपचारिक निर्णय गर्ने बुझिएतापनि के निर्णय गर्यो भन्ने बारेमा अधिकारिक धारणा सार्वजनिक भई सकेको छैन । एमालेको नेपाल समूहले अध्यक्ष ओलीलाई २०७५ साल जेठ २ गतेमा फर्किन आज साँझसम्मको २४ घण्टे अल्टिमेटम दिएको छ ।
विशेष सुत्रका अनुसार नेपाल समूहका २० जना भन्दा केही बढी सांसदले राजीनामापत्रमा हस्ताक्षर गरेर आफ्ना नेता माधव नेपाललाई बुझाएको जानकारी प्राप्त भएको छ । यदि ओली २०७५ साल जेठ २ गतेमा फर्किनतयार नभएमा नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने भनेर राजीनामा पत्र तयारी अवस्थामा राखेका छन् ।