तत्कालको लागि निलम्वनवाट बचे खनाल-नेपाल समूहका सांसदहरु, उपयुक्त समयमा कारबाही गर्ने
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरु तत्कालको लागि निलम्वनवाट बचेका छन् । एमालेमा समानान्तर गतिविधि गर्दै आएका उक्त समूहका सांसदहरुलाई तत्काल कारबाही नगरी उपयुक्त समयमा एमालेले कारबाही गर्ने भएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएर खनाल-नेपाल समूहका केहि सांसदहरुलाई निलम्वन गर्ने सम्भावना रहेको थियो ।
माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सुइँको थाहा पाएपछि ओलीले बालुवाटारमा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका थिए ।
ओलीले नेपाल समूहका केही सांसदलाई निष्कासनको तयारी गरी दशौं महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने बुझिएको थियो । माधव नेपाल, भीम रावलसहित निलम्वित ४ जना र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको एमाले स्रोतले जनाएको थियो ।
नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्नेबारे सुक्ष्म अध्ययन भइरहेको जानकारी दिएको छ । क-कसलाई कारवाही अघि बढाउने भन्ने प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको महाधिवेशन आयोजक कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबारे जानकारी गराउँदै एमाले प्रवक्ता ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताउदै आजको बैठकले कारवाही सम्बन्धी कुनै निर्णय नलिएको बताए ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई खनाल-नेपाल समूहका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी उपयुक्त समयमा गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए ।
उनले बैठकमा नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्षमा निकालिएको उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने बताए । यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको र उनीहरुको गतिविधिको आधारमा निर्णय लिइने उनको भनाइ छ ।
६ गतेको बैठकले संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना माधव नेपाल पक्षीय नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । अघिल्लो पटकको बैठकले कर्णाली प्रदेशका ४ प्रदेशसभा सदस्यहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो ।
स्पष्टीकरण सोधिएका अन्य सांसदहरुमाथिको कारबाहीबारे आजको बैठकमा छलफल हुने आंकलन गरिएको थियो । कर्णालीका ४ सांसदहरुलाई पदबाट हटाइए तापनि बाँकी २४ जनाको बारेमा निर्णय हुन भने बाँकी रहेको छ ।
यो पनि पढ्नुहोस्
बालुवाटारमा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक
प्रधानमन्त्री ओलीलाई अविश्वास प्रस्तावको त्रास : नेपाल समूहका सांसदको पद हुँदै चट् !
ओलीले बोलाए एमालेको आकस्मिक बैठक, नेपाल समूहका सांसदलाई गर्लान त निलम्वन ?