माधव नेपालको स्पष्टीकरण : अलग पार्टी खोलेको भन्ने आरोप आपत्तिजनक
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र बुझाएका छन् । उनले ६ बुँदा लामो जवाफमा नेता नेपालले ओलीले लगाएको आरोपको खण्डन गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनुशासन विपरित गएको भन्दै नेपालसहित २७ संघीय सांसद र ५ जना कर्णाली प्रदेश सभाका सदस्यलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण पत्र लेखेका थिए ।
अदालतको आदेशपछि एमालेको सम्पूर्ण संरचनाहरु र तिनका बैठक बस्ने लगायतका सबै क्रियाकलाप पूर्ववत हुनुपर्छ भन्ने आफ्नो स्पष्ट धारणा रहेको उनले बताएका छन् । उनले आफ्नो धारणा सर्वोच्चको फैसलाको निर्देशन अनुरूप भएको दावी समेत गरेका छन् ।
नेपालले पार्टी विधान अनुसार चल्नुपर्छ भन्ने मागलाई अपराधी देख्नु पार्टीविरुद्धको आपराधिक चिन्तन भएको बताए । ओलीले आफूलाई भिन्नै पार्टी खोलेको भनेर हास्यास्पद आरोप लगाएको पनि बताएका छन् ।
उनले पार्टीको इतिहास, सिद्धान्त, कार्यक्रम, नीति र विधिको रक्षार्थ तपाईंले फागुन २८ गते गर्नुभएको पार्टी विधान विपरीतको निर्णय रद्द गर्ने माग गर्दा अलग पार्टी खोलेको भन्नु आपत्तिजनक एवं हास्यास्पद भएको लेखेका छन् ।
फागुन २८ गते गरेको निर्णयको आलोचना गर्नु आफ्नो कर्तव्य भएकोले यसलाई दल त्याग गरेको नयाँ दल गठन गरेको कुरासँग जोड्नु उचित नहुने लेख्दै आफूले नयाँ दल खोलेको, खोल्न लगाएको, चलाएको वा चलाउन लगाएको दावी गर्दै आफूमाथि ओलीले लगाएका सबै आरोप निराधार भएको बताएका छन् ।