देउवाले बोलाएको तीन दलको संयुक्त बैठक आज बस्दै, के विषयमा होला छलफल ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) वीच बैठक बस्न लागेको हो ।
सत्ता समीकरण तथा नयाँ राजनीतिक परिदृश्यबारे छलफल गर्न तीन दलको संयुक्त बैठक बस्ने भएको हो । नेपाली काँग्रेसभित्र नयाँ सरकार गठनका लागि सहमति भएर अग्रसरता लिने निर्णय गरेको एक हप्तापछि देउवाले तीन दलको बैठक बोलाएका हुन् ।
यो बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुनेछ । आजको बैठकमा देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्नेछन् ।
यसअघि कांग्रेसका केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहलकदमी लिने निर्णय गरेको थियो ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न गाम्भीर नभएको र राजनीतिक अवस्थालाई बन्दी बनाएको भनेर देउवाको आलोचना हुँदै आएको छ । एमाले बाहेकको सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र जसपा बीच सहकार्य हुनैपर्ने बाध्यता रहेको छ ।
यो पनि पढ्नुहोस्