संसदमा कविता वाचन गरेर महेश बस्नेतले हाने प्रचण्डलाई तीखो बाण
काठमाडौं । पूर्व उद्योगमन्त्री एवं नेकपा एमालेको ओली निकट सांसद महेश बस्नेतले आज सोमबार पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बिरुद्ध गद्य कविता वाचन गरेर व्यंग हान्दै तीखो बाण प्रहार गरेका हुन् ।
बस्नेतले सोमबारको प्रतिनिधिसभा बैठकमा कवितात्मक शैलीमा प्रचण्डमाथि व्यंग्य प्रहार गर्दै संसदमा लिखित कविता सुनाएका हुन् । उनले प्रचण्डको नाम पनि कतै उच्चारण नगरी प्रतीकात्मक शैलीमा प्रचण्डमाथि लक्षित गर्दै कविता वाचन गरेका हुन् ।
बस्नेतले आज बसेको संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भएको आरोपको बारेमा आफ्नो धारणा राखेका छन् । बस्नेतले प्रचण्डको साथै खनाल-नेपाल समूहमाथि ठुलो आरोप समेत लगाएका छन् ।
बस्नेतले प्रचण्डले सरकारलाई समर्थन फिर्ता लिन नसकेको र ओलीको राजीनामा भने मागिरहेको भन्दै सकिन्छ भने समर्थन फिर्ता लिएर देखाउन आग्रह गरेका छन् । उनले खनाल-नेपाल समूहले पनि पार्टीको निर्णय विपरित उभिएर ओलीको राजीनामा मागेर ठुलो गल्ती गरेको आरोप लगाए ।
नयाँ सरकार गठन गर्नको लागि जसपा पनि अघि सर्न नसकेको र कांग्रेस अगाडी बढेपनि माओवादी केन्द्रले समर्थन फिर्ता गर्न नसकेको आरोप लगाए । पार्टी एकीकरण गरेर स्वार्थ पुरा गर्ने रणनीतिमा लागेका प्रचण्डको सपना पुरा नभएर नेकपा फुटेको आरोप लगाए ।
यस्तो छ संसदमा महेश बस्नेतले वाचन गरेको कविता
चुनाव अगाडि गठबन्धन बनाएँ
चुनाव जितेपछि एकीकरण गराएँ
कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें
कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ
सरकार बनाउँदा आधा कार्यकाल मागेँ
संसद विघटन गरेर परिवर्तनको घोषणा गरी निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा पर्यो भनेर कराएँ
प्रतिगमन भयो भनेर चिच्याएँ
आन्दोलन गराएँ
मिसन मिडिया चलाएँ
वकिल नागरिक समाज उचालेँ
अदालत गुहारेँ
निर्वाचन आयोग धाएँ
माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ
सेटिङको हल्ला चलाएँ
संसदीय दलको नेता बनेँ,
अध्यक्ष घोषणा गरें
११ गतेको फैसलाले मख्ख परेँ,
लड्डु खाएँ, अवीर दलेँ
काँग्रेस र जसपाको अफिस धाएँ
नागरिक समाजको डबली धाएँ
२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ
विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ
अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ
नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ
प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन
अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ
नैतिकताका आधारमा राजीनामा दिनैपर्छ
लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने
प्रधानमन्त्रीको सीट खाली छ,
केपी ओलीका अगाडि मेरो केही लागेन
जसपा मानेन
काँग्रेस जागेन !
धन्यवाद ।