अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सांसदलाई निर्देशन, एमालेमा ७० वर्षे उमेर हद खारेज
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको आज बालुवाटारमा बसेको विशेष बैठकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन निर्देशन दिएको छ ।
आज शुक्रबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस व्यक्तव्य जारी गर्दै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएका हुन् । नेकपा एमालेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
साथै उक्त बैठकले विधान संशोधन गरि ७० वर्षे उमेर हद लगायत संविधानमा बाझिने कतिपय प्रावधानहरु हटाएको छ । ७० वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरु महाधिवेशन अघि नै बिदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको प्रवक्ता ज्ञवालीले बताएका छन् ।
ज्ञवालीले बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणका बेला कायम ४३५ सदस्यहरुलाई पार्टीमा सहभागी हुन आह्वान गरेको जनाएका छन् । त्यस्तै बैठकले महाधिवेशनको समयावधि, उमेर हद, कमिटीको संरचना लगायतका कतिपय पश्नमा विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकुल बनाउन वाधा अड्काउ फुकाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो पनि पढ्नुहोस्