जसपा संसदीय दलको बैठक बस्दै, दलको नेता को होला चयन ?
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ । सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै नयाँ सरकार समीकरण कस्तो हुने भन्ने निर्णायक भूमिका जसपाको हातमा पुगेको बेला बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।
उक्त दलको आज बस्ने संसदीय दलको बैठकमा मुख्य गरी संसदीय दलको विधान छलफलपछि पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने दुई वटा एजेण्डामा छलफल हुने बताइएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको वार्ता सकारात्मक बनेपछि आज कार्यदल स्तरमा वार्ता पनि तय गरिएको छ । संसदीय दलको बैठक सकेर दुईपक्षीय कार्यदलबीच वार्ता हुने भएको हो ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि नयाँ सरकार गठन हुने कि ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने भन्ने अन्योलता कायम रहेकै बेला संसदमा निर्णायक बनेको जसपाले सबैसँग छलफल गरेर आफ्ना माग सम्बोधन गर्ने पक्षसँग मिलेर सरकार बनाउने निर्णय मंगलबारको संसदीय दलको बैठकमार्फत गरेकाे थियाे ।
ओली नेतृत्वकै सरकारमा सहभागी हुने कि कांग्रेस र माओवादीसँग मिलेर नयाँ सरकार बनाउने भन्ने विषयमा जसपा अन्योलमा रहेको भएपनि ओली निकट एमालेतिर नजिक भएको देखिन्छ । महन्त ठाकुर र राजेन्द्र महतो पक्ष ओली नेतृत्वकै सरकारमा जानु पर्ने बताइरहेको छ भने अर्को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीलाई कुनै हालतमा सहयोग गर्न नहुने अडानमा भएपनि केहि दिन अघिदेखि ओलीसँग सहकार्य गर्ने इच्छुक देखिएको संकेत पाइएको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण भएपनि अहिलेसम्म एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको छैन । जसपामा पार्टी एकता हुने बेला राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने भद्र सहमति भएको थियो ।
तर उक्त पार्टीको गोप्य स्रोतको अनुसार आज बस्ने जसपा नेपाल संसदीय दलको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको जनाएको छ । पार्टी स्रोतका अनुसार अहिलेसम्म संसदीय दलको बैठकको अध्यक्षता गर्दै आएका पार्टीका अध्यक्ष ठाकुरलाई दलको नेता चयन गर्ने गरी तयारी अगाडि बढेको हो ।
तथापि दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् । अहिलेसम्म उनीहरुले खुलेर पार्टी बैठकमा आफ्नो दावेदारी प्रस्तुत नगरेको स्रोतको भनाइ छ ।
जसपाले निलम्बित सांसद रेशम चौधरी लगायत नेता-कार्यकर्ताको रिहा तथा मुद्दा फिर्ता गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ । आफूहरुको मागप्रति सरकार सकारात्मक देखिएको जसपाका नेताहरुले बताएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बहुमत गुमाएको खण्डमा ओलीलाई बहुमत जुटाउन अर्को दलको साथ चाहिन्छ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा छ ।
एमालेले कांग्रेस, जसपा र माओवादी केन्द्र तीनवटै पार्टीमध्ये एउटासँग सत्ता साक्षेदारी गरेपनि सरकार चलाउन सक्ने गणित संसद्मा छ । ओलीको विकल्प खोज्न भने कांग्रेस, माओवादी केन्द्र र जसपा तीन वटै दल मिल्नुपर्ने अवस्था छ । यही बुझेरै जसपा नेताहरू दुवै पक्षका तानातानमा थिए ।
संसदमा नेकपा (एमाले) को १२१ सिट छ । बहुमत १३८ पुर्याउन जसपा सहयोगी बन्न सक्छ । तर जसपाका नेताहरूले आफ्ना माग पूरा हुनुपर्ने बताइरहेका छन् । माओवादी केन्द्रले साथ छाडेमा प्रधानमन्त्रीलाई बहुमतका लागि १८ मत आवश्यक पर्छ । जसपाका ३४ जना सांसदमध्ये २ जना निलम्बनमा परेकोले अहिले ३२ जना सांसद रहेका छन् ।
यो पनि पढ्नुहोस्
सरकार र जसपाबीच आज पनि वार्ता हुँदै, होला त सहमति ?
बाबुराम भन्छन्, ‘जसपा मुसा दौडमा छैन है’ : होला त ओलीसँग सत्ता साझेदारी ?
एमाले र जसपा वीचको वार्ता सकारात्मक, जाला त सरकारमा ?
जसपाको मुख्य एजेण्डा रेशम चौधरी रिहा, होला त रिहा ?
जसपाका एमालेसँग तीन माग, होला त सत्ता साझेदारी ?