\
राजनीतिहेडलाइन

केपी ओलीले जेलमा बस्दा चाणक्य नीति र महाभारत मात्र पढेछन् : प्रचण्ड

ललितपुर । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बस्दा चाणक्य नीति र महाभारत मात्र पढेको टिप्पणी गरेका छन् ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई ललितपुरको जावलाखेलमा सम्बोधन गर्दै उनले केपी ओलीले जेलमा बस्दा कसलाई कसरी लडाउने, सत्तामा कसरी पुग्ने, सत्तामा कसरी टिकिरहने भन्ने बारेमा चाणक्य नीति पढेर सिकेको बताएका हुन् ।

चाणक्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाएका थिए । उनी राजनीति र कूटनीतिका ज्ञाता थिए । शत्रुहरूको कमजोरीलाई चिनेर उसलाई आफ्नो काममा लाउने विशिष्ट प्रतिभाको भएका चाणक्य सधैँ आफ्नो शत्रुहरू माथि हावी रहेका थिए ।

साथै उनले थप्दै केपी ओलीले जेलमा बस्दा महाभारत पढेर शकुनिको पासा राजनीतिमा खेल्न सिकेको टिप्पणी गरेका छन् । उनले ओलीले जालझेल र छलकपट गरी नेकपाभित्र अरुलाई किनारा लगाउने गरेको भन्दै ओलीलाई शकुनिसँग तुलना गरे ।

उनले आफूलाई उपयोग गरेर माधव नेपाल पक्षलाई ४ वटा जिल्ला सभापतिमा मात्र सीमित गर्ने ओलीको रणनीति भएको तर आफूले माधव नेपाललाई साथ दिएर २४/२५ जिल्लाको नेतृत्व माधव पक्षलाई दिलाएको दावी समेत उनले गरे ।

शकुनी महाभारतको चर्चित विवादास्पद पात्र हुन् । जब जुवातासको कुरा आउँछ, हाम्रो मनमा महाभारतका एकजना पात्रको नाम स्मरण हुन्छ । उनी हुन् – शकुनि । कपट र जालझेलको सन्दर्भमा पनि खासरगरी शकुनि पासाको चर्चा हुने गर्छ ।

उनी दुर्योधनका मामा अर्थात गान्धारीका भाइ थिए । पासा र कौडामा छलकपट गरेर पाँच पाण्डवहरूलाई वनबास पठाउनमा उनले नै ठूलो भूमिका खेलेका थिए । उनलाई छलकपट र अन्यायका प्रतिकको रूपमा चिनिन्छ ।

साथै उनले ओलीले आफूलाई महाराजाधिराज नै भएजस्तो ठान्ने गरेको आरोप लगाएका छन् । कसैको कुरा नसुन्ने, आफूले गरेको सवै कुरा ठिक भन्ने र ठुला-ठुला कुरा गर्ने तर ब्यबहारमा केहि काम नगर्ने ओलीको स्वभाव भएकोले यो राजा-महाराजकै जस्तो भएको टिप्पणी गरेका हुन् ।

यो पनि पढ्नुहोस्

केपी ओलीले आफूलाई महाराजाधिराज नै भएजस्तो ठान्छन् : प्रचण्ड

Leave a Reply