\
राजनीतिहेडलाइन

सधैँ अपराह्नमा बस्ने क्याबिनेट बैठक आज किन १० बजे ?

काठमाडौं, असोज १५ । क्याबिनेट बैठक आज विहीबार भने अहिले विहानै १० बजेका लागि बोलाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आइतबारको जस्तै हिजो राति मन्त्रीहरुलाई मन्त्रिपरिषद्को सचिवालयले आजको बैठकबारे खबर गरेको थियो ।

तर, बैठकका एजेण्डा के–के छन् भन्नेबारे कोही मन्त्री पनि जानकार छैनन् । बालुवाटारस्रोतका अनुसार आइतबारकै बैठकमा विभिन्न मन्त्रालय टुक्र्याउनका लागि तयार पारिएको प्रस्ताव आजको बैठकले पारित गर्दैछ ।

यससँगै सचिव शंकरदास वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने र हालका मुख्यसचिव लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिकाका लागि राजदूत नियुक्त गर्ने प्रस्ताव तयार भइसकेको र आजको मन्त्रिपरिषद्मा पेश हुने सम्भावना रहेको पनि स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को कार्यसम्पादन नियमावली संशोधन गरी मन्त्रालय टुक्र्याउनेबारेमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति भएको दावी बालुवाटारस्रोतको छ ।

टुक्रिने मन्त्रालयमा जलस्रोत, भूमि व्यवस्था, गरिवी निवारण तथा सहरी, भौतिक पूर्वाधार तथा यातायातसहितका छन् । अब उर्जा मन्त्रालय अलग्गै हुने, त्यसबाट फुटेर सिंचाई तथा नदी व्यवस्थापन अलग मन्त्रालयका रुपमा रहने भएको छ । भूमि व्यवस्थाबाट गरिवी निवारण र सहकारी मन्त्रालयलाई अलग पारिने प्रस्ताव छ । भौतिक पूर्वाधारलाई अलग्गै मन्त्रालय बनाई यातायात मन्त्रालय छुट्टयइँदैछ ।-जनआस्थावाट

Leave a Reply