\
राजनीतिहेडलाइन

३ वटा मन्त्रालय फुटाउने, रेल र पानीजहाज मन्त्रालय थप्ने तयारी

काठमाडौं, असोज ११ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा आज बिहान भएको छलफल सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डसँग झण्डै १ घण्टा छलफल भएको थियो । दुई अध्यक्षबीचको आज भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको बारेमा छलफल केन्द्रित भएको बुझिएको छ । प्रधानमन्त्री ओलीनिकट स्रोतले दिएको जानकारी अनुसार दुई अध्यक्षबीच मापदण्ड र रोस्टर बनाउने विषयमा कुराकानी भएको हो ।

केही दिनयता दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्तिका विषयमा छलफल चलिरहेको छ । ओली-प्रचण्डबीच छलफललाई जारी राख्ने सहमति पनि भएको छ । स्रोतका अनुसार केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना बढेको छ भने दुई अध्यक्षको छलफलका आधारमा प्रधानमन्त्रीले यसवारेमा निर्णय लिनेछन् ।

यी हुन् फुटाउन लागिएका मन्त्रालयहरु

स्रोतका अनुसार आज बसिरहेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिमण्डल पुनर्गठनको लागि केही मन्त्रालय समेत फुटाउने तयारी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय गरी ३ वटा मन्त्रालय फुटाउन लागिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई टुक्रयाएर भौतिक अलग्गै, यातायात, रेल्वे, पानीजहाज र नदी नियन्त्रण छुट्टै मन्त्रालय बनाउने तयारी गरेको एक स्थायी कमिटी सदस्य दाबी गर्छन् । संविधानमा मन्त्रालयको संख्या २५ भन्दा बढी नबढाउन नमिल्ने बाध्यकारी प्रावधान छ । अहिले १९ वटा पूर्ण र ३ वटा राज्यमन्त्री छन् ।

अर्थमन्त्री युवराज खतिवडा बहिर्गमित भएकाले प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । सहरी विकास, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले सम्हालिरहेका छन् । सूचना तथा सञ्चारमन्त्री पनि प्रधानमन्त्रीकै भागमा छ ।

तीबाहेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग-अलग बनाउने कुरा पनि चलिरहेको छ । मौजुदा मन्त्रालयमा कृषि तथा पशुपन्छी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय टुक्रयाउन मिल्नेछन् ।

यीमध्ये केही मन्त्रालय टुक्र्याएर २५ वटै बनाउने र आकांक्षीहरूलाई जिम्मेवारी दिन लागिएको स्रोतको दाबी छ । बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ । आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद् बैठकले मन्त्रालय टुक्र्याउने सम्भावना रहेको स्रोतको दाबी छ ।

भागबन्डा पुर्याउनका लागि मन्त्रालय फुटाउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ । हाल अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय रिक्त छ । हालका आधाजसो मन्त्रीहरु हेरफेर हुने सम्भावना छ ।

रेल र पानीजहाज मन्त्रालय थप्ने सम्भावना

रेल र पानीजहाजको महत्त्वाकांक्षी योजना सुनाएर नथाक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै मन्त्रालय बनाउने तयारी गरेका छन् । सरकारले जल र स्थल यातायातको समन्वय गर्ने गरी रेल र पानीजहाज मन्त्रालय स्थापना गर्ने तयारी गरेको छ । मन्त्रिपरिष्द पुनर्गठनमा रेल र पानीजहाज मन्त्रालय बनाउने गरी तयारी भइरहेको नेकपा स्रोतले बतायो ।

अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत रेल र पानीजहाज कार्यालय छन् । भौतिक पूर्वाधारबाट यातायातलाई अलग गरेर नयाँ मन्त्रालय स्थापनाको तयारी भइरहेको स्रोतले बतायो । रेल र पानीजहाज मन्त्रालय स्थापना गर्ने मोटामोटी सहमति भइसकेकोले मन्त्रिपरिषद्को बैठकले यसको निर्णय गर्ने सम्भावना रहेको छ ।

समुन्द्रमा नेपाली ध्वजाबहाक पानीजहाज चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना छ । ओलीले मिति नै तोकेर पानीजहाज चल्ने संसदबाट घोषणा गरेका थिए । सरकारले दुई वर्षअघि नै ललितपुरमा पानीजहाज कार्यालयसमेत स्थापना गरेको छ ।

पूर्वपश्चिम रेल सञ्चालन गर्ने नेकपाको चुनावी घोषणा पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सोही घोषणालाई कार्यान्वयनमा ल्याउन रेल र पानीजहाज मन्त्रालय स्थापना गर्न लागिएको स्रोतले बतायो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

ओली-प्रचण्ड छलफल सकारात्मक : केहि दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने

बालुवाटारमा ओली-दाहालबीच छलफल जारी : मन्त्रिपरिषद् पुर्नगठनको मापदण्ड टुंग्याउन सक्ने

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक : महत्वपूर्ण निर्णय हुन सक्ने

प्रधानमन्त्री मन्त्रिपरिषद् पुर्नगठन गृहकार्यको अन्तिम चरणमा : यी हुन् नयाँ मन्त्री बन्न चाहिने ३० गुणहरु

Leave a Reply