नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल शुरु
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल शुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल हेरफेरको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यसबारे बैठकमा सदस्यहरुले विभिन्न सुझाव दिएका छन् तर मापदण्ड भने बनिसकेको छैन । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो ।
यस्तै बैठकले संवैधानिक राजनीतिक नियुक्तिका उपयुक्त निर्णय गर्न सरकारलाई सुझाव दिएको छ । यस्तै सांगठनिक एकीकरणका बँँकी कार्यभारत पूरा, रिक्त रहेका स्थायी समिति र केन्द्रीय समितिमा मनोनयन गर्ने लगायतका विषयमा पनि छलफल सुरु भएको श्रेष्ठले जानकारी दिए ।
नेकपामा २ वर्षअघि मन्त्री भएकाहरुलाई निरन्तरता दिने या नदिने भन्ने निक्र्योल भएको छैन । कतिपयले साढे २ वर्षअघि मन्त्री भइसकेका सबैलाई बिदा गरेर नयाँलाई मौका दिनुपर्ने बताइरहेका छन् भने कतिपयले कार्य सम्पादनमा कमजोर रहेकालाई मात्रै हटाउनुपर्ने बताउँदै आएका छन् ।
नेकपाको ९ सदस्यीय सचिवालयमा रहेका ३ जना सदस्यलाई पनि मन्त्रिमण्डलमा समावेश गर्ने या नगर्ने भन्ने प्रश्न पनि पछिल्लो समय उठ्दै आएको छ ।सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेललाई समेत सरकारमा सहभागी गराएर सरकारका कामकारवाही प्रभावकारी बनाउनुपर्ने एक पक्षको भनाइ छ । तर प्रधानमन्त्री केपी ओली गौतम र श्रेष्ठलाई मन्त्री बनाउने सन्दर्भमा त्यति सकारात्मक नभएको बताइन्छ ।
उनले आजको बैठक सोमबार १ बजे पुनः बस्ने गरी स्थगित भएको जानकारी दिए ।
यो पनि पढ्नुहोस्
पेरिसडाँडामा जारी नेकपा सचिवालय बैठकमा सबैलाई उस्तै कुर्सी (फोटो फिचर)