विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्ति गर्न नारायणकाजी र दीपकराजको माग
काठमाडौँ, भदौ २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनःनियुक्ति गर्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कलाकार दीपकराज गिरीले माग गरेका छन् ।
प्रवक्ता श्रेष्ठले आज ट्विट गर्दै प्रधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्ति हुनुपर्ने बताएका हुन् । ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ’ श्रेष्ठले भनेका छन्, ‘उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु ।’
बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।
— Narayan Kaji Shrestha Prakash (@narayankajis) September 14, 2020
यस्तै कलाकार दीपकराज गिरीले पनि आज एक अभिनयान घोषणा गरेका छन् । उनले घिसिङको पुनर्नियुक्तिको माग गर्दै ५ मिनेट बत्ति निभाउने अभियान घोषणा गरेका छन् । गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुलमानजीको पुनर्नियुक्तिका लागि जनदवाव स्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्धता प्रकट गरौं ।’ गिरीको यो घोषणालाई धेरैले समर्थन गर्दै साथ दिने समेत बताएका छन् ।
नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । तर पनि सरकारले उनको स्थानमा नयाँ व्यक्ति नियुक्ति गरिसकेको छैन ।
आज मन्त्रिपरिषद् बैठक बस्दैछ। उर्जामन्त्री वर्षमान पुनले आजको बैठकमा घिसिङको नाम प्रस्ताव गर्ने तयारी गरेको स्रोतको दावी छ । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पुनः घिसिङलाई नै दोहोर्याउनुपर्ने आवाज सामाजिक सञ्जालदेखि चारैतिर उठिरहेको छ ।