नेकपा स्थायी कमिटी बैठक जारी : प्रधानमन्त्री ओली अनुपस्थित
काठमाडौं, साउन १३ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको बेला सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लामो समयदेखि स्थगित हुँदै आएको स्थायी कमिटी बैठक बालुवाटारमा जारी रहेको छ । अध्यक्ष ओलीको अनुपस्थितिमै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका हुन् ।
यसअघि देशभर बाढी पहिरोको जोखिम बढेपछि स्थगित गरिएको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएकोमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले थप छलफल आवश्यक भएको भन्दै स्थगित गरेका थिए । बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको थियो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित् गरेकोमा आपत्ति जनाएका छन् । बैठक बस्नुभन्दा आधा घण्टा अघिमात्रै ओलीको सचिवालयले आजको बैठक स्थगित् भएको सन्देश प्रवाह गरेपछि दाहाल ओलीसँग आक्रोशित बनेका हुन् ।
यद्पी नेकपा का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउनका लागि भन्दै दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव दिएका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको नजिक पुगेको संकेत गरेका छन् । आज सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले सो कुराको जानकारी दिएका हुन् ।