नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक २६ गते बस्ने
काठमाडौं, असार २४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक पर्सि २६ गते ११ बजेसम्म स्थगित भएको जानकारी दिएका छन् ।
हिजो मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच आज बुधबार बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति भएको थियो । यही असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएसँगै विवाद उत्कर्षमा पुगेको छ।
सत्तारुढ दल नेकपामा देखिएको विवाद मिलाउन दुई अध्यक्ष छलफलमा जुटिरहेका छन् । पार्टीभित्र देखिएको विवाद समधानका लागि भन्दै प्रधानमन्त्री ओली र अध्यक्षबीच केहीदिन देखि एक्ला-एक्लै वार्ता हुँदै आएपति ठोस सहमति भने हुन सकेको छैन ।
स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।