\
राजनीतिहेडलाइन

ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने

काठमाडौं, असार १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संकट, समस्या केही शीर्ष नेताहरु वीचको आन्तरिक शक्ति संघर्षको वरिपरी घुमेको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएका पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीवीचको सम्बन्धमा चिसोपना थपिएको छ । प्रचण्डले आधा आधा समय प्रम बन्ने गरेको सहमति तोडेर आफूले गल्ती गरेको महसुस गर्न थालेका छन् भने, ओली दाहालले पार्टीभित्र माधव नेपाल, बामदेव गौतम, झलनाथ खलानसंग मिलेर आफूलाई घेराबन्दी गराएको आरोप लगाइरहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरू ललितपुरको झम्सिखेल भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई स्थायी समिति बैठकबाट राजीनामाका लागि निर्देशन दिने निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन् । बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर त्याग गर्नुपर्ने बताएका थिए ।

त्यसपछि अन्तरविरोध चर्किँदै जाँदा नेकपाभित्र गुटगत छलफल बाक्लिँदै गएको छ । ओलीविरोध खेमा छलफल मुलतः ओलीलाई कसरी हटाउने र ओली आफूलाई कसरी सुरक्षित गर्ने भन्ने रणनीतिमा देखिन्छन् । यही अनुसार मंगलबारको स्थायी समिति बैठकमा आफ्नो राजीनामा मागिएसँगै बुधबार बिहान आफू निकटका मन्त्री र स्थायी समिति सदस्यसँग ओलीले छलफल गरेका थिए । निकटहरुसँग परामर्श गर्दा उनले तीनवटा विकल्पमा छलफल गरेको बुझिएको छ । पहिलो विकल्प पार्टीभित्रैबाट राजीनामा मागिएको अवस्थामा राजीनामा दिने र पार्टी फुटबाट जोगाउने, दोस्रो राजीनामा नगरी सेना परिचालन गरेर अघि बढ्ने र तेस्रो आफू पार्टी नफुटाउने अरुले फुटाए काँग्रेससँग मिलेर सरकार बनाउने ।

ललितपुरको झम्सिखेलस्थित अँगेनो रेष्टुरेन्टमा सम्पन्न ४५ सदस्यीय स्थायी समितिका बहुमत सदस्यको भेलाले स्थायी समिति बैठकबाट त्यस्तो निर्णय गरेर पद छोडाउने निष्कर्ष निकालेको थियो । साँझ ५ बजेबाट ८ बजेसम्म चलेको भेलामा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापासहित ३२ जना नेता सहभागी थिए । उक्त बैठकले ओलीविरुद्ध एकताबद्ध भएर अघि बढ्ने निर्णयमा गरेसँगै ओलीमाथि थप दवाव बढेको छ । दवाव यो अर्थमा पनि यो खेमा ओलीलाई हटाउन सक्ने मतका साथ थियो ।

आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका ओली पक्षधर नेतासँग प्रचण्डले झण्डै २ घण्टा छलफल गरेका छन् । छलफलका क्रममा पार्टी एकता मजबुद बनाउने विषयमा कुराकानी भएको सहभागी एक नेताले बताएका छन् । अध्यक्ष प्रचण्डसँग छलफलका लागि ओली निकटका नेताहरु सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदिप ज्ञवाली पुगेका छन् । साथै उक्त छलफलमा प्रचण्ड-नेपाल समूहका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव लगायतका पनि उपस्थित छन् ।

बिहीबार बिहान भने दुबै पक्ष केही लचक हुँदै पार्टीभित्रको सन्तुलन मिलाएर अघि बढ्न सहमत भएका छन् । दुबै पक्षलाई ‘विनविन’ को माहोल बनाउने गरी बिहीबार बिहान प्रचण्ड निवासमा बसेको बैठकले ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने निष्कर्ष निकालेको नेताहरुले बताएका छन् । छलफलका क्रममा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा छलफल भएको एक स्थायी समिति सदस्यले बताएका छन् । उनका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत रहेको छ ।

Leave a Reply