\
राजनीतिहेडलाइन

खुमलटार बैठकको निष्कर्ष : पार्टी विभाजन कुनै हालतमा हुन दिनुहुँदैन

काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्न थालेपछि शीर्ष नेताहरुले परामर्श र छलफललाई तीव्रता दिएका छन् । हिजो बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल गरेपछि बेलुका प्रचण्ड र माधव नेपाल पक्षधरले झम्सिखेलमा परामर्श गरेका छन् ।

त्यस्तै आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका ओली पक्षधर नेतासँग प्रचण्डले झण्डै २ घण्टा छलफल गरेका छन् । छलफलका क्रममा पार्टी एकता मजबुद बनाउने विषयमा कुराकानी भएको सहभागी एक नेताले बताएका छन् ।

अध्यक्ष प्रचण्डसँग छलफलका लागि ओली निकटका नेताहरु सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदिप ज्ञवाली पुगेका छन् । साथै उक्त छलफलमा प्रचण्ड-नेपाल समूहका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव लगायतका पनि उपस्थित छन् ।

पार्टी भित्रको विवाद चाँडै हल गर्ने विषयमा कुराकानी भएको भएको उनले जानकारी दिए । उनले भने, ‘पार्टी एकता कसरी मजबुत बनाउने भन्ने विषयमा छलफल भयो, यसका लागि थप छलफल गर्न आवश्यक भएको निष्कर्ष निकालिएको छ ।’

पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि दुवै पक्षले छलफललाई तीव्रता दिएका छन् ।

प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन् । बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर त्याग गर्नुपर्ने बताएका थिए ।

Leave a Reply