आदर्श व्यवसायी तथा समाजसेवी जितबहादुर श्रेष्ठ सम्मानित
काठमाडौँ । आदर्श व्यवसायी तथा समाजसेवी जित बहादुर श्रेष्ठ सम्मानित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (IPPAN) ले नेपालमा पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै व्यवसायी श्रेष्ठलाई सम्मान गरेको हो ।
श्रेष्ठ,नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष हुन् । यो कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना निर्माण गरेको हो ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको लागार्चेमा ईन्टेक र मेलम्ची नगरपालिकाको ज्यामिरे रातमाटामा आयोजनाको बिद्युत गृह निर्माण भएर सञ्चालनमा छ । करिब २२ वर्षदेखि आयोजनाले व्यवसायिक उत्पादन गरिरहेको छ ।
जलविद्युत आयोजनाको व्यावसायिक निर्माण थालनी गरेका श्रेष्ठ, सिन्धुपाल्चोकको बाह्रबिसे बजारका निवासी हुन् । सानै उमेरदेखि व्यवसायमा लागेका श्रेष्ठले बंगलादेशबाट मल निर्यात लगायतका काम गरेका थिए भने, नेपाल बाङ्लादेश बैंक स्थापना गरि सो बैंकको संस्थापक अध्यक्ष समेत भई नेपालका कुना कन्धराहरुमा सो बैंकको शाखा बिस्तार गरि आम जनतालाई सुबिधा दिने काम गरेका थिए । यसै गरी श्रेष्ठले नेपाल क्रेडिट एण्ड कमर्श बैंक, एन. बि. ईन्स्योरेन्स स्थापना गरेका हुन् ।
व्यवसायी श्रेष्ठ भन्छन्, २०४३ सालको राष्ट्रिय पन्चायतको चुनावमा सिन्धुपाल्चोकबाट पशुपतिशमशेर राणा, नेत्रबिक्रम थापा लगायतका उम्मेद्वारसंग उनी पनि चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । आफू सफल व्यवसायी भएको, आफ्नो चुनावी मुद्दा समेत विकास निर्माण र आर्थिक उपार्जन गराउनु रहेको, चुनावमा लावा लस्करका साथ आफू गाउँ-गाउँ पुगिरहदा यो पटकको चुनाव स्वत: जित्ने आम जनमानसबाट समेत आस्वासन दिइएतापनि चुनावमा आफ्नो पराजय पश्चात्, सनातन सस्कार अनुसार एउटा् गाई किनेर विधिपूर्वक “राजनीतिलाई” दान दिएर पुर्णतः ब्यबसायमा मात्र लागेको बताउछन् ।
नेपाली उर्जा उत्पादकहरुले जलविद्युतको निर्माण सुरु गरेको झण्डै २५ बर्ष भई सकेको छ । साधारणतय जलविद्युतमा लगानी गर्नु आफैमा अत्यन्तै चुनौतीपूर्ण हुने र उबेला कोहि कसैको सफलताका उदाहरण समेत नभएको र आफुनै पहिलो उर्जा उत्पादक हुनु अत्यन्तै अन्योलको व्यवसाय भएकोले जलविद्युतमा लगानी गर्ने आँट गर्नु नै यो मुलुकको हालको अवस्थाको उन्नयन गर्ने एक सफल अनि साहसिक व्यक्तिको रुपमा लिन सकिन्छ जीत बहादुर श्रेष्ठ लाई ।
यो जलविद्युत आयोजनालाई ल्याउन सिन्धुपाल्चोककै अर्का हाइड्रो व्यवसायी कृष्ण प्रसाद भण्डारीको समेत ठूलो हात छ । २०५१ माघ ९ गते, जित बहादुर श्रेष्ठ र कृष्ण प्रसाद भण्डारीले विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्रको लागि जलस्रोत मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागमा निवेदन पेश गरी २०५१ फागुन ८ गते नै उक्त अनुमतिपत्र प्राप्त गरेका थिए ।
नेपालमा उर्जामा काम गर्ने अनुभवी ठेकेदार, अनुभवी बैंक, कन्सल्टेन्ट र प्राईभेट कम्पनीमा काम गर्ने, ईन्जिनियर र व्यवस्थापक नभएकोले, बित्तिय ब्यबस्थापनको काम, ठेकेदार चयन, कन्शल्टेन्ट चयन, प्रोजेक्ट व्यवस्थान टिमको चयन प्रक्रिया अगाडी बढाउन निकै असहज भएतापनि जल उर्जामा केही ठोस काम गर्ने आफ्नो अठोट र नेपालको समृद्धिको लागी पर्यटन, जलविद्युत, कृषि, जडिबुटी प्रमुख भएकोले जलविद्युतको सुरुवात आफुले जसरी भएपनि सम्पन्न गर्ने स्व:प्रतिबद्धता लिएर अगाडि बढेकोले नै यो सवै सम्भव भएको श्रेष्ठ बताउछन् ।
अहिलेको हाम्रो मुलुकको क्षमता, अनुभव लाई हेर्ने हो भने ७.५ मेगावाट क्षमताको जलविद्युत आयोजना आफ्नै जनशक्तिबाट सहज अवतरण गर्न सकिने भएता पनि यो आयोजनाको लागि चाईनिज ठेकेदार नियुक्त गर्नु, जर्मनी कन्सल्टेन्टको नियुक्ति गरिनु, ३१०८ मिटर लामो सुरुङ निर्माण गरिनु, सिन्धुपाल्चोकको ज्यामिरे देखि पाँचखाल सबस्टेशन सम्म २६ किलोमिटर लामो ६६ के. भि. प्रसारण लाइन निर्माण गरिनु आफैमा ठूला चुनौतीहरु थिए ।
जलविद्युतको पहिलो अनि सफल अनुभव हुनुलाई आयोजना क्षेत्र आफ्नो गृह जिल्लामा हुनु र आफुलाई स्थानीयहरुले हदै सम्मको सहयोग गरेका र आयोजना कम्पनीले पनि प्रभावित वडाहरुमा विकास निर्माण र स्थानीय जनचाहना बमोजिम बिद्यालयहरुमा शिक्षकको व्यवस्थापनमा समेत उल्लेख्य सहयोग आदान-प्रदान गरेको सम्झिन्छन् ।
आफुले जलविद्युत आयोजना संचालन गरिरहदा, माओवादी सशस्त्र द्वन्द चर्किदै तत्कालिन श्री ५ को सरकारले संंकटकाल घोषणा गर्दा निकै अन्यौल्ता भएपनि २०५९ असोज २१ गते यो आयोजनाको सम्पूर्ण काम सम्पन्न गरि व्यावसायिक उत्पादन सुरु भएको थियो ।
७९ बर्षको उमेर पुगि सकेका श्रेष्ठ, नेपालले जलविद्युत उत्पादनमा उल्लेख्य प्रगति गरेको हेर्न र आफ्नो कम्पनीको समेत थप सहभागिता खोजिरहेको बताएका छन् ।