हास्य कलाकार ‘तक्मे बूढो’ लाई पुत्री लाभ
काठमाडौँ । हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बूढो) लाई पुत्री लाभ भएको छ । बिहीवार तक्मे बुढालाई पुत्री लाभ भएसंगै उनी छोरीको बाबु बनेका हुन् ।
झापाको विर्तासिटी अस्पतालमा विल्सनकी छोरी जन्मिएकी हुन् । उनले आफ्नो छोरीको नाम सभ्यतावि राई राखेका छन् । उनले नवजात छोरीलाई आशिर्वाद दिएका छन् । हास्य कलाकार राईले २०७६ सालको भदौमा सरिना लामासँग विवाह गरेका थिए।
सामाजिक सञ्जाल फेसबुकमा उनले छोरी जन्मेको खबर सार्वजनिक गर्दै लेखेका छन्, ‘आज हाम्रो परिवारको नयाँ सदस्यको शुभ आगमन भयो, मलाई छोरीको बाबु र मेरो जीवनसाथीलाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त भयो । औधी भाग्यमानि ठानेको छु ।’
थुप्रै फिल्ममा अभिनय गरिसकेका विल्सन ‘मेरी बाँस्सै’ मा ‘तक्मे बुढा’ को भूमिकापछि चर्चामा आएका थिए । अहिले उनलाई वास्तविक नामले भन्दा ‘तक्मे बुढा’ नामले चिन्ने धेरै छन् ।
उनी अभिनीत पछिल्लो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ हो । यसमा उनी धनकाजीको भूमिकामा थिए । फिल्ममा उनको अभिनय दर्शकले रुचाएका थिए । फिल्म पनि हिट भएको थियो । उनले ‘सेन्टी भाइरस’ फिल्ममा पनि अभिनय गरेका छन् ।