देउवाको प्रस्तावलाई जसपाले राख्यो तामेलीमा : तीन दलको बैठक निष्कर्षविहीन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा अक्सर लामो बोल्दैनन् । शुक्रबार बिहान कांग्रेसनिकट कर्मचारीको कार्यक्रममा भने उनले प्रशिक्षणको शैलीमा चुनाव र आगामी रणनीतिबारे लामै भाषण गरे ।
प्रतिनिधिसभाभित्रको गणित र कांग्रेसको अवस्थाबारे उल्लेख गर्दै उनले भने, ‘हामीले हाम्रो धरातल बिर्सनु हुँदैन । अहिले सरकार बनाउन संख्या छैन । जुनसुकै बेला चुनावमा जानुपर्ने अवस्था आउन सक्छ । हामी तयारी अवस्थामा बस्नुपर्छ ।’
गत चुनावमा कांग्रेसले किन हार्यो र अब कसरी जित्ने भन्ने विषयमा बोल्दै देउवाले तीन दलको बैठक बोलाउनुको कारण पनि खुलाए, ‘बैठक बोलाएको छैन, शेरबहादुरले वास्तै गरेन, कामै गरेन भन्लान् भनेर बैठक बोलाइदिएको छु ।’
पार्टीभित्रका नेताहरूको चित्त बुझाइदिने प्रयोजनका लागि मात्र शुक्रबार अपराह्न अन्य पार्टीहरूसहितको बैठक बोलाइदिएको संकेत उनको थियो । दिउँसो भएको तीन दलको बैठक करिब त्यस्तै भयो ।
देउवाले आफ्नै निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठकमा केपी शर्मा ओली सरकारलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखे । यो प्रस्तावमा विगतमा जस्तै जसपाले ठोस जवाफ दिएन ।
ओली नेतृत्वको सरकारसँग पनि समदूरीको सम्बन्ध बनाइरहेका जसपाका नेताहरूले देउवाको प्रस्तावलाई ‘पर्ख र हेर’ रणनीति अन्तर्गत तत्काललाई तामेलीमा राखेका छन् । पार्टीभित्र छलफल गरेर मात्र निर्णय गर्ने जवाफ उनीहरूले कांग्रेसलाई दिएका छन् । सरकारले आफ्नो माग पूरा गर्नेतर्फ काम गरिरहेको खबरसमेत जसपा अध्यक्ष महन्थ ठाकुरले सुनाइदिएका छन् ।
सभापति देउवा ओली सरकारप्रति ‘सफ्ट’ भएको भन्दै कांग्रेसका बहुसंख्यक नेताले आलोचना गर्न थालेपछि उनी गत शुक्रबार केन्द्रीय समिति बैठकबाटै सरकारको विकल्प खोज्ने निर्णय गर्न राजी भएका थिए । त्यसपछि उनले नयाँ सरकार निर्माणको पहल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिम्मेवारी दिए ।
पौडेलले जसपाका नेता ठाकुर, उपेन्द्र यादवलगायतसँग अनौपचारिक छलफल गरे । तर यो एक सातामा भएका छलफलमा परिणाम निस्केन । माओवादी केन्द्रले ओलीको विकल्पमा कांग्रेस नेतृत्वलाई समर्थन गर्ने भन्दै आएको छ । त्यसका लागि उसले पनि जसपालाई मनाउने कोसिस गरिरहेको छ । वैकल्पिक सरकार निर्माण गर्ने विषयमै छलफल सुरु भए पनि त्यो देउवाले औपचारिकताका लागि मात्र गरेको जसपाका केही नेताको बुझाइ छ ।
बैठकमा सहभागी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने सत्ता समीकरणकै लागि तीन दल एक ठाउँमा जुट्नु पनि उपलब्धिमूलक भएको बताए । सरकार छिटो हटाउन आतुर माओवादी केन्द्रका नेताहरू भने कांग्रेसले औपचारिक रूपमा सरकारको नेतृत्व गर्ने प्रस्ताव ल्याएकामा केही उत्साही देखिन्छन् ।
जसपाका नेताहरूले भने आफूहरू सरकारभन्दा पनि एजेन्डामा केन्द्रित भएकाले त्यसलाई पूरा गराउने दिशामा लागेको जवाफ दिए । जसपा नेताहरूले आफ्ना नेता–कार्यकर्तामाथि राजनीतिक आन्दोलनलगायत क्रममा लागेका झूटा मुद्दाबारे सरकारसँग कुराकानी भइरहेको पनि सुनाएका थिए ।
सरकारले सकारात्मक रूपमा मुद्दा फिर्ताको प्रक्रिया अघि बढाइरहेकाले त्यसका लागि बरु कांग्रेसको समेत साथ आवश्यक रहेको नेता ठाकुरले बताएका थिए । जसपाले बिहीबार २ सय ८ जनाको मुद्दा फिर्ताका लागि सरकारलाई विवरण पठाएको थियो । जसपा नेताहरूले प्रधानमन्त्री ओलीसँग निरन्तर छलफल गरेपछि मुद्दा फिर्ताका लागि वातावरण बनेको हो ।
सरकारले मुद्दा फिर्ता गरेर जसपाको समर्थन लिने कोसिस गरिरहेको थाहा पाएपछि कांग्रेस र माओवादी केन्द्रका नेताहरूले आफूहरू पनि त्यसमा सकारात्मक रहेको र नयाँ सरकार बनेपछि पनि ती काम गर्न सकिने भन्दै आश्वासन दिएका थिए । जसपाका नेताहरूले त्यसबारे बैठकमै कुनै ठोस जवाफ दिन सकेनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।