बिबिसी नेपाली सेवाका पूर्व बरिष्ठ पत्रकार सुशील शर्माको निधन
काठमाडौँ । बिबिसी नेपाली सेवाका पूर्व बरिष्ठ पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन आज निधन भएको छ । खारिएका प्रश्न र तटस्थ राजनीतिक विश्लेषण गर्ने छवि बनाएका पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा शुक्रवार निधन भएको छ ।
उनले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराएका थिए । रोग पूर्णरुपमा निको नभई समस्या भोगिरहेका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीनदिनदेखि उनी सोही अस्पतालमा उपचाररत थिए । उनको शरीरका विभिन्न अङ्गले काम गर्न छाडेपछि निधन भएको बताइएको छ ।
शर्मा करिब डेढ दशक बीबीसी नेपाली सेवामा कार्यरत थिए । उनले बीबीसी नेपाली सेवाको प्रमुख सम्वाददाताको पदबाट सन् २०११ को नोभेम्बरमा राजीनामा दिएका थिए । राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोटलाइट र बिबिसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गरेका वरिष्ठ पत्रकार शर्माले नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्याएका थिए ।
आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनती र इमान्दार हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध रहेका उनमा मिलनसार, देखेको कुरा भन्ने र लेखेका कुरामा अडिग स्वभाव रहेको उनका समकक्षी वरिष्ठ पत्रकार तीर्थ कोइराला स्मरण गर्छन् ।
बिबिसी नेपाली सेवाको उत्थानमा उनको ठूलो योगदान रहेको छ । उनको श्रीमती र एक छोरा छन् । दिवंगत पत्रकार शर्माको आत्माको चिर शान्तिको कामना गर्दछौ । साथै शोकाकुल परिवारमा हार्दिक समवेदना पनि व्यक्त गर्दछौ ।