\
राष्ट्रिय समाचारसमाचार

१६ शय्याको आइसोलेसन वार्ड तयार

बलेवा, १० वैशाख । बागलुङमा सरकारी र निजी स्वास्थ्य संस्थामा गरी १६ शय्याको आइसोलेसन वार्ड तयार भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित बिरामी र सङ्क्रमितलाई उपचार गर्ने गरी आइसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको हो । दुईजना कोरोना सङ्क्रमितको उपचार गरेको धौलागिरी अञ्चल अस्पतालले आठ शय्याको आइसोलेसन वार्ड तयार गरेकोे छ । यसअघि सो अस्पतालमा चार शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको थियो । निजी क्षेत्रबाट सञ्चालित सदरमुकामको मुक्तिनाथ अस्पतालले पनि दुई शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको जनाएको छ ।

त्यस्तै, सहकारीले सञ्चालन गरेको निलगिरी अस्पतालले ३ शय्याको आइसोलेसन वार्ड तयार गरेको छ । निजी क्षेत्रले नै सञ्चालन गरिरहेको सफल पोलिक्लिनिकले पनि एक शय्या र गलकोट हटियास्थित आरोग्य अस्पतालले दुई शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।

धौलागिरी अञ्चल अस्पताल बाहेकका स्वास्थ्य संस्थामा जनशक्तिको भने अभाव छ । “अफठ्यारो अवस्था आइहालेमा काम चलाउनका लागि पनि आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ तर मापदण्ड अनुसारको जनशक्ति भने छैन”, प्रमुख गुरौले भन्नुभयो, “कठिन अवस्थामा प्राप्त जनशक्तिको उच्च व्यवस्थापन गरेर पनि चलाउन सकिन्छ ।”

आइसोलेसनमा कम्तिमा पनि डव्लुएचओले तोकेको जनशक्ति र भेण्टिलेटर लगायतका उपकरणको आवश्यकता हुन्छ । धौलागिरी अञ्चल अस्पतालमा मात्रै भेण्टिलेटरसहितका आइसोलेसन शय्या छन् ।

योजनाको काम सञ्चालन हुने
जिल्लाको जैमिनी नगरपालिकाले लकडाउनका कारण बन्द रहेका आयोजनाको काम सञ्चालन गर्ने भएको छ । नगरपालिका, प्रदेश र केन्द्र सरकारबाट विनियोजित बजेटमा नगरभित्र सञ्चालनमा रहेका योजनाको कामलाई निरन्तरता दिन निर्माण कम्पनी तथा उपभोक्ता समितिलाई आग्रह गरेको छ ।
नगर कार्यपालिकाको बैठकले सुरक्षित हिसाबले विकास निर्माणका कामलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताउनुभयो । “काम बन्द भएको भएपनि यहाँका मजदूर एकै ठाउँमा बसेकै छन्”, उहाँले भन्नुभयो, “बस्ने ठाउँमा सामाजिक दूरी कायम गराउनु र अरु कसैसँग सम्पर्कमा नआउने गरी कार्यक्षेत्रमा काम गराउनु उस्तै त हो भनेर काम गराउने निर्णय भएको छ ।”

निर्माण कम्पनी र उपभोक्ता समितिले नगरभित्रै रहेका मजदूरको परिचालन मात्रै गर्न पाउने नगरपालिकाले जनाएको छ । बाहिरबाट कोही कसैलाई ल्याएर काम गराउन नपाइने उहाँले बताउनुभयो । काम बन्द हुँदा मजदूरको रोजीरोटी खोसिएको र विकास प्रभावित हुने भएकाले सावधानीका साथ कामहरु अघि बढाउन थालिएको हो । लकडाउनका कारण काम रोकिँदा दैनिक गुजारा नचलेको भन्दै नगरपालिकाले ३ सय ८० मजदूरलाई खाद्य सामग्री उपलव्ध गराउँदै आएको छ ।

“डोजर चलाउने कामले कसैसँग सम्पर्क गर्दैन, जिल्लासँग समन्वय गरेर इन्धन उपलव्ध गराउँछौं”, उहाँले भन्नुभयो, “नगरभित्रका फरक–फरक ठाउँमा रहेका योजनामा दश जनाभन्दा धेरै नहुनेगरी मजदूरले आफ्नो क्षेत्रमा काम गर्न सक्छन् ।” चालू् आर्थिक वर्षमा जैमिनी नगरपालिकामा तिनै तहबाट विनियोजित ५ सयभन्दा धेरै योजना छन् । तीमध्ये केही योजनाको काम सकिएको र केही बाँकी भएको उहाँले बताउनुभयो ।

योजनाको सम्झौता र फरफारकमा समेत कडाइ गर्न थालेको नगरपालिकाले लकडाउनका कारण काम नभएका योजनामा केही लचकता अपनाउने भएको छ । आगामी वैशाख १५ पछि आयोजनाहरुको फरफारक गर्ने निर्णय कार्यपालिकाले गरेको छ । सम्पन्न भइसकेका आयोजनाहरुको फरफारकको काम भीडभाड हुन नदिने व्यवस्था मिलाई वैशाख १५ पछि सूचारु गर्ने निर्णयमा उल्लेख छ ।

Leave a Reply