\
राष्ट्रिय समाचारसमाचार

रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माण शुरु

लम्की, ९ वैशाख । राष्ट्रिय गौरवकोे आयोजना कैलालीको रानीजमराकुलरिया सिँचाइ आयोजनामा लकडाउनका बीच पनि निर्माण शुरु भएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाको काम पुनःसञ्चालन गर्ने नीति बनाएपछि त्यहीअनुरुप कैलालीको सो आयोजनामा काम शुरु भएको हो ।

आयोजनाका अनुसार सोमबारदेखि कर्णाली नदीका तीन स्थानमा तटबन्धको काम शुरु भएको छ । ‘‘कर्णाली नदीको टीकापुर क्षेत्रका सनकट्टी, साइपुर र भुराखानीमा नदी नियन्त्रणको काम सोमबारदेखि शुरु भयो’’, सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर बद्रीबहादुर कार्कीले भन्नुभयो, ‘‘कर्णालीकै डल्फिन क्षेत्र ढुङ्गाना टोलमा भने काम हुन सकेको छैन । त्यहाँ कामदार र आवश्यक सामग्रीको अभाव छ ।’’

काम शुरु भएका ठाउँमा सरकारको मापदण्डअनुसार खानेबस्ने व्यवस्था र सुरक्षाका उपाय अपनाएर काम थालिएको उहाँले बताउनुभयो । आयोजनाले कैलालीका १८ स्थानमा नदी नियन्त्रणको काम गरिरहेको छ । अहिले तीन ठाउँमा मात्र काम शुरु भएको छ अन्य ठाउँमा काम शुरु गरिने आयोजनाले जनाएको छ । सिनियर डिभिजनल इन्जिनियर कार्कीले आयोजनाले चारथरिका काम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीसँग अनुमति मागेको बताउनुभयो । ‘‘अनुमति मागेका छौँ तर प्रमुख जिल्ला अधिकारीले अहिले स्थानीयस्तरमै पाइएको कच्चा पदार्थ प्रयोग गरेर काम गर्न भन्नुभएको छ’’, कार्की भन्नुहुन्छ, ‘‘काम गर्न कठिन भए पनि स्थानीय कामदार प्रयोग गरेर काम गरिरहेका छौंँ ।’’

सिँचाइ आयोजनाले कैलालीका तीन नदी कर्णाली, मोहना र लम्कीस्थित चोरी खोलामा नदी नियन्त्रणको काम गरिरहेको छ । साथै नदीसंँग जोडिएका कैलालीका टीकापुर र लम्की नगरपालिका तथा जानकी गाउँंपालिकाका विभिन्न ठाउँमा नहर निर्माणको काम भइरहेको छ ।

टीकापुरका सनकट्टी र शाहीपुरमा तटबन्धको काम गरिरहेको निर्माण कम्पनी गजुरमुखी सिद्धिसाई कन्स्ट्रक्सनका प्रबन्धक धीरेन्द्र शाहीले सनकट्टीमा दुई किलोमिटर तटबन्ध गर्नुपर्नेमा गत वर्ष ११ सय मिटर तटबन्ध निर्माण भएको जानकारी दिनुभयो । ‘‘यस वर्ष दुई सय मिटर तटबन्ध यसअघि नै बनिसकेको छ’’, प्रबन्धक शाही भन्नुहुन्छ, ‘‘अब सात सय मिटर बाँकी छ । लकडाउनका कारण रोकिएको काम दुई दिनदेखि पुनः सञ्चालन गरेका छौंँ ।’’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सिँचाइ आयोजनाअन्तर्गत तटबन्धको कार्य भइरहेको बताउनुभयो । ‘‘अहिले काम चलिरहेको छ । समस्या आएमा हामी अन्य जिल्लाबाट पनि कच्चा पदार्थ ल्याउन अनुमति दिन्छौंँ’’, बोहराले भन्नुभयो, ‘‘तटबन्धका लागि ढुङ्गा, ग्राभेल स्थानीयस्तरमै पाइन्छ । आयोजनालाई काम गर्न सहयोग हुने वातावरण बनाउँछौं ।’’

कैलालीमा ठूला आयोजनाअन्र्तगत धनगढीमा निर्माणाधीन धनगढी–मोहना छ लेन सडक र केही पुल निर्माणका लागि अनुमति दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि यस क्षेत्रको करीब ३८ हजार हेक्टर भूभागमा सिँचाइ सुविधा पुग्नेछ । यस आयोजनाको निर्माण आर्थिक वर्ष २०६५÷०६६ देखि शुरु भएको हो । सन् २०२३ डिसेम्बर ३१ मा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ । यस आयोजनाको कुल लागत रु २७ अर्ब हो । सो आयोजना विश्व बैंकको अनुदान, नेपाल सरकारको संयुक्त लगानी र जनश्रमदानमा निर्माण भइरहेको छ ।

Leave a Reply