\
राष्ट्रिय समाचारसमाचार

२५ दिनदेखि भोकभोकै त्रिपालमा

बाँके, २ वैशाख । भारतको हैदराबादका सैयत खासीमको परिवार विगत २५ दिनदेखि बाँकेको कोहलपुरमा त्रिपालमा बसिरहेको छ । विगत १० वर्षदेखि नेपालमा विभिन्न समयमा भाडा बनाउने काम गर्दै आएका उनको परिवार अहिले लकडाउनको मारमा परेको छ ।

खासीमको तीन जनाको परिवार छ । उनीसँगै आएका अब्दुल रहमानको परिवार पनि कोहलपुरमै बसिहेको छ । उनको परिवार पनि २५ दिन अघि दाङबाट आएको हो । उनीहरुसँगै सात जनाको परिवार विगत तीन सातादेखि त्रिपालको बास बसिरहेका छन् । उनीहरु नेपालको विभिन्न स्थानबाट आफ्नो देश भारत जनाका लागि चैत पहिलो साता कोहलपुर आएका थिए । तर कोरोना भाइरस सङ्क्रमण हुन नदिन जारी गरिएको लकडाउनका कारण उनीहरु आफ्नो देश फर्कन पाएनन् । पच्चीसमध्ये १६ जनाले आफ्नो मुलुक फर्कन रेलको टिकटसमेत काटिसकेका थिए तर लकडाउनका कारण त्यो रद्द भयो ।

नेपालको सिमवर्ती भारतीय नाका रुपैडियाबाट हैदराबाद पुग्न रेलमार्गमार्फत पाँच दिन लाग्ने गर्छ । “हामी आफ्नो देश जान आएका थियौं, लकडाउनका कारण यही रोकियो । अलि अलि कमाएको पैसा पनि सकियो, अहिले हामी गम्भीर पीडित भएका छौं”, अब्दुर रहमानले भन्नुभयो, “भएको रुपैयाँ खाएरै सकियो, अब कसरी बाँच्नु ? यो चिन्ता रर पीडाले हामी ग्रस्त छौं ।” अझै लकडाउन लम्बिएको खण्डमा आफूहरुलाई निकै समस्या हुने उहाँले बताउनुभयो ।

आफूजस्तै धेरै जनाको परिवार भोकभाकै बस्नु पर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । “कोरोनाले न आफ्नो घर जान पाइयो, न यहाँको सरकारले हामीलाई सहयोग गरेको छ, अहिले हामी समस्या र पीडाले छटपटाइ रहेका छौं”, अर्का भारतीय नागरिक मोहम्मद अलिले भन्नुभयो, “स—साना बालबालिकाहरुको भोकप्यास मेटाउन समस्या परेको छ ।” राहतका लागि वडा पालिकामा नाम लेखाएको भए पनि एक साता हुँदासमेत राहत नपाएको उहाँको गुनासो छ । “नजिकै बसेको दाईले वडाले राहत दिन्छ भनेर नाम लेखाउनुभयो, खै राहत अझै आएको छैन”, हुसेन अलिले भन्नुभयो, “यहाँको सरकारले राहत दिन्छ भन्थे अझै दिएका छैनन् । कमाएको पैसा पनि सकियो । अहिले निकै समस्या भएको छ ।”

राहतका लागि आफूहरु दुई÷दुई पटक वडा कार्यालयमा गए पनि नागरिकता मागेपछि राहत नपाएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “हामी त भाँडाकुडा बनाएर खाने मान्छे, सबै कागजात उतै छ, के गर्ने हामी त भोकभोकै त्रिपालको बास बसेको छु । लकडाउन छ, कसरी ल्याउने नागरिकता ? हामीलाई राहत उपलब्ध गराइदिए हुन्थ्यो ।” उहाँले आफू केही वर्षदेखि दाङमा भाडामा बस्दै आएको बताउनुभयो ।

आफ्नो मुलुक भारततर्फ जान आएको बेला उहाँजस्तै २५ जनाको टोली यहीँ लकडाउनको मारमा परेको छ । “अहिलेसम्म आफ्नो कमाईले गुजारा चलाएका थियौं, लकडाउन लम्बिँदै जाँदा पैसा सकियो । अहिले हातमुख जोर्न धौ–धौ परेको छ”, उनीहरुले दुखेसो पोख्नुभयो । उनीहरुको बिचल्ली देखेपछि यहाँका केही व्यक्तिले खानेकुरा सहयोग गर्न थालेका छन् । उनीहरु सबै मुस्लिम समुदायका हुन् । यतिबेला उनीहरुको मुख्य पर्वको समय भए पनि त्रिपालमुनि भोकभोकै बस्नुपरेको उनीहरुको गुनासो छ ।

कोहलपुर नगरपालिका–११ का वडाध्यक्ष कर्णबहादुर थापाले राहत वितरणका लागि उनीहरुको पनि नामावली सङ्कलन गरिएको र नगरपालिकाले दोस्रो चरणमा उनीहरुलाई राहत वितरण गर्ने बताउनुभयो । उहाँले दोस्रोे चरणमा राहत वितरणका लागि १५ सयभन्दा बढी नागरिकको नामावली सङ्कलन गरिएको जानकारी दिनुभयो ।

रानीतलाउ चकमन्न
नेपालगञ्ज : आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको यहाँको रानीतलाउ उद्यान कोभिड—१९ पछिको जारी बन्दाबन्दीका कारण अहिले चकमन्न भएको छ ।

दुई दशकसम्म बन्दको अवस्थावाट त्राण पाएर पुनः सञ्चालनमा ल्याइएको ऐतिहासिक पृष्ठभूमिको रानीतलाउ उद्यान विस्तारै नेपालगञ्ज बाहिरका लागि पनि मनोविनोद गर्ने आकर्षकको केन्द्र बन्दै गएको थियो । नेपालगञ्ज भूगोलको मध्यभागमा अवस्थित यो उद्यानमा मूलतः त्यहाँ रहेको नौकाबिहारले सबैलाई मोहित बनाउँछ । उद्यानमा रमणीय बगैचा, बालबालिकाका लागि पिंग, चिप्लेटी, चमेनागृहलगायत व्यवस्था गरिएका छन् । नेपालगञ्ज वडा नं ८ मा रहेका गोलाकार आकारको रानीतलाउ उद्यानमा पछिल्लो समय भारतीय पर्यटकको आगमन समेत बढेको थियो तर, कोरोना महामारीले सीमानाका बन्द र आन्तरिक बन्दाबन्दीले उद्यान सुनसान भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले पुनर्निर्माण गरेपछि पर्यटनको विकासमा समेत रानीतलाउ उद्यान कोशेढुङ्गा सावित हुँदै गएको थियो । उपमहानगरपालिकाले झण्डै रु २५ लाख खर्चेर जिर्णोद्धार गरेको रानीतलाउ उद्यानलाई प्रतिवर्ष भ्याटसहित रु २९ लाख ३४ हजारमा ठेक्का सञ्चालन अनुमति दिइएको छ । प्रवेश शुल्क रु पाँच र नौकाबिहारको रु २५ शुल्क तोकिएको छ । प्रवेश शुल्क रु पाँच निकै कम भएकाले बढाउनुपर्ने ठेकेदार मुमताज शेषले माग राख्नुभएको छ ।

उहाँका अनुसार, सामान्य दिनमा ३०० भन्दा बढी व्यक्ति उद्यान अवलोकनका लागि आउने गर्थे । “शनिवार र चाँडपर्वमा भने एक हजारभन्दा वढी आउने गरेका थिए”, ठेकेदार शेषको भनाइ छ । अहिले बन्दाबन्दीले दैनिक सरदर रु १० हजार बढी घाटा हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रलाई परेको विपत्तिमा हामीले पनि केहि त सहनै प¥यो ।”

यसैगरी, आन्तरिक तथा वाह्य पर्यटकको आकर्षकको केन्द्र नेपालगञ्जको अर्को ऐतिहासिक महेन्द्र उद्यान पनि बन्दाबन्दीको चपेटामा परेको छ । ‘मिनी जू’ को उपनाम पाएको उद्यानमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका जङ्गली जनावर र चराहरु रहेका छन् ।

नेपालगञ्जका यी दुई पर्यटकीयस्थल मात्र नभई यहाँको ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, कान्तिताल र करोडौ लगानीको पानी उद्यान (वाटरपार्क) निर्माण योजना बन्दाबन्दीका कारण रोकिँदा लाखांै रुपैयाँको घाटा परेको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताउनुभयो ।

Leave a Reply