\
राष्ट्रिय समाचारसमाचार

पैँचो र सहयोगले चल्दैछ दैनिकी

जाजरकोट, १ वैशाख । भेरी नगरपालिका–१ कालेगाउँकी धनकुमारी कामीलाई दैनिक विहान बेलुकी कसरी छाक टार्ने भन्दै चिन्ताले सताइरहेको थियो । कामीको घरमा भएको अन्न सकिएपछि उहाँले छिमेकीसँग पैँचो मागेर गुजारा चलाइरहनुभएको थियो । आइतबार दिउँसो उहाँको घरमा ३० केजी चामलसहित तेल र दाल लिएर स्थानीय सहदेव बस्नेत र वडा अध्यक्ष दीपक राना पुग्नुभयो । यसरी घरमै सहयोग मिलेपछि धनकुमारी खुशी नहुने कुरै भएन । धनकुमारीले सहयोगदाताको जय जयकार गर्नुभयो । अब उहाँलाई पैँचो तिर्न पनि पुग्ने सामल भयो । अध्यक्ष रानाले व्यक्तिगत पहलमा सो सहयोग गर्नुभएको हो ।

खहरेखोलाकी सुशीला सुनारले पनि ३० केजीको चामल पाएपछि दैनिकी चल्ने आशा पलाएको बताउनुभयो । कोरोना रोकथामका लागि लकडाउन जारी भएकाले उहाँहरुले मजदुरी गर्न पाउनुभएको थिएन ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको वडा रहेको सो वडाका स्थानीयवासीले समस्या पर्दा अरुलाई समेटेर भाइचारको सम्बन्ध बलियो बनाएर लैजानुपर्छ भन्ने सन्देश दिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । उहाँले स्थानीयवासीले संसार जित्न सकिन्छ भन्ने सन्देश दिएको जनाउनुभयो ।

Leave a Reply