नदी दोहन तीव्र
सर्लाही, १० चैत । लालबन्दी नगरपालिका–१७ अन्तर्गत रहेको कालीञ्जोर नदीमा नदीजन्य सामग्रीको उत्खनन भएकोे छ । पूर्व पश्चिम लोकमार्ग नजीकै देखि चुरे क्षेत्रतर्फ करीब पाँच किलोमिटर दूरीसम्म अवैध रुपमा रातारात खोला उत्खनन भइरहेको स्थानीयवासीले बताएका छन् । प्रदेश नं २ प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका नदीको अवैध उत्खनन नगर्न निर्देशन दिए पनि नदी उत्खनन भइरहेकाले वर्षायाममा रानीगञ्ज, शाहेवगञ्ज, डाडाटोल र रञ्जितपुरसहितका स्थानहरु डुबानमा पर्ने चिन्ता बढेको छ । उत्खननमा लालबन्दी नगरपालिका–१७ मा रहेको प्रिन्स क्रसर स्टोर र गजुरमुखी निर्माण सेवाको संलग्नता रहेको स्थानीय युवा लक्ष्मण खड्काले बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना पूर्वपश्चिम रेल्वेको ट्र्याक निर्माणको ठेक्का पाएको गजुरमुखी निर्माण सेवाले सो खोला ८० लाखमा ठेक्का लिएको थियो । मापदण्डअनुसार काम गर्ने भनी ठेक्का लिएको भए पनि अहिले अवैध रुपमा नदी उत्खननमा गरेको वडा नं ६ का वडाध्यक्ष उज्वल कार्कीले बताउनुभयो । गजुरमुखी निर्माण सेवाले अवैध रुपमा नदी उत्खनन गरिरहेको स्थानीयवासीले बताएपछि आफूले त्यसको विरोध गरेको तर त्यसलाई बेवास्ता गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
स्थानीयवासीका अनुसार करीब पाँच किलोमिटरसम्म मापदण्ड विपरीत स्काभेटरको प्रयोग गरेर खाल्डा बनाएर नदीजन्य वस्तुको उत्खनन भइरहेको छ । स्थानीय प्रहरी प्रशासनदेखि प्रदेश प्रहरीप्रमुख प्रहरी नायब महानिरीक्षकसम्मलाई उत्खननको विषयमा जानकारी गराएको स्थानीयवासीको भनाइ छ । प्रहरी नायब महानिरीक्षकलाई ध्यानाकर्षण गराउँदा केही समयका लागि स्काभेटरहरु जङ्गलमा लुकाएको र पछि फेरि उत्खनन शुरु गरिएको स्थानीयवासीको भनाइ छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय लालबन्दीले एक स्काभेटर नियन्त्रणमा लिएको छ । अवैध उत्खनन गरेको भन्ने स्थानीयवासीले जानकारी गराएपछि आफूले सो स्काभेटर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नारायण थापाले बताउनुभयो ।