कृत्रिम अभावविरुद्ध ध्यानाकर्षण
चिप्लेढुङ्गा, ५ चैत । शान्तिका लागि नागरिक समाज कास्की र इन्सेक गण्डकी प्रदेशले कोरोनाको कारण देखाउँदै बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भएको भन्दै विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
विश्वभर फैलिरहेको कोभिड–१९ भाइरसले खडा गरेको सन्त्रासपूर्ण अवस्थामा व्यापारीबाट कृत्रिम अभाव खडा गरी चर्को मूल्य, कालोबजारी, गुणस्तरहीन खाद्य वस्तुको बिक्री वितरण नगर्न र नगराउन सम्बन्धित सरोकार पक्षको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमार्फत नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।
सञ्जालका अध्यक्ष विष्णु बराल र इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजारमा केही महिनादेखि चीनको उहान प्रान्तबाट शुरु भएको कोभिड–१९ भाइसको सङ्क्रमणबाट नेपाल पनि उच्च जोखिममा रहेको जनाएको उल्लेख छ । जनसमुदायमा सन्त्रास फैलिरहेको परिस्थितिको मौका छोपी उपभोक्ताको दैनिक जीवनमा गम्भीर असर पर्ने गरी व्यवसायीबाट उपभोग्य वस्तु खाद्य पदार्थ, ग्यास, औषधिजन्य वस्तुको कृत्रिम अभाव खडा गरी जनतामा थप भय र सन्त्रासको अवस्था सिर्जना गरिएकोप्रति सरकारसमक्ष ध्यानाकर्षण गराएको हो ।
कोरोनाको सङ्क्रमणलाई नेपालमा प्रवेश हुन नदिन, कोही सङ्क्रमणमा परेको अवस्थामा उपचारका लागि स्वास्थ्यसम्बन्धी सबैखाले उपाय अवलम्बन गर्नसमेत आग्रह गरिएको छ । नेपाल सरकारले रोकथामका लागि गरेका प्रयास पर्याप्त नभएको र स्रोत साधनको कमी देखिएकाले कुनै विपत्ति आउनुपूर्व नै त्यसबारेमा गम्भीररुपमा सोच्नसमेत आग्रह गरिएको छ ।