\
राष्ट्रिय समाचारसमाचार

पाटीबाट चिटिक्क घरमा सर्दा …

बनेपा, २३ फागुन । पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाउनुभएको छ । विनाशकारी भूकम्पले घर भत्काएपछि उहाँ करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल र बोराले बेरेर बस्दै जीवन गुजार्दै आउनुभएको थियो ।

श्रीमान् र कमाएर खाने जग्गाजमिन समेत नहुँदा उहाँ सालको पात बेचेर दैनिक छाक टार्न विवश हुनुहुन्थ्यो । ‘नेपाल पुनःनिर्माण सहयोग कार्यक्रम’ अन्तर्गत ह्याबिट्याट फर ह्युमानिटीको आर्थिक सहयोगमा ‘आर्किटेक्चर्स सान्स फ्रन्टियर्स’नामक सस्थाले घर बनाउन सहयोग गरेपछि अहिले उहाँ चिटिक्क भूकम्प प्रतिरोधी घरभित्र बस्न पाउनुभएको छ । “म पाटीको बसाइँमा रहेकै बेला सस्थाका कर्मचारीले (उहाँहरु) आवतजावत गर्ने बेलामा देख्नुभयो, अहिले घर निर्माण कार्य सम्पन्न गरी दिनुभएको छ ।” उहाँले भन्नुभयो, “ मेरो जीवनमा ठूलो गुण लगाउनुभयो । नयाँ घरमा बस्छु भनेर कल्पना समेत गरेको थिइन ।”

“ पाटीमा कहिले पानी चुहिने र कहिले हावाहुरीको सामना गरेर करिब साढे चार वर्ष बिताइयो, आपतविपतकै अवस्थामा जीवन गुजारा गरेकै अवस्थाबाट अहिले नयाँ घर पाएको छु ।” उहाँले खुशी हुँदै भन्नुभयो, “अहिले आनन्दका साथ बस्न पाएको छु ।” श्रीमान् साथमा नभएको र भएका तीन छोराहरुमध्ये जेठो र कान्छो भिन्दै बसिसकेकाले आफूसँगै बस्ने माइलो छोरा मानसिक सन्तुलन ठीक नभएको कारण कतिखेर कहाँ हिँड्छ थाहा नहुने अवस्थामा रहेको उहाँले बताउनुभयो । चौलागाईले भन्नुभयो “अहिले आफूले पनि काम गर्न नसक्ने र सँगै भएका छोराको पनि उचित साथ नपाएपछि निकै समस्यामा छु ।”

भएको नौ आना जग्गामा भएको कमाइले खाना नपुग्ने भएकाले पात बेचेर खाने विकल्प भन्दा अरू नभएको उहाँको भनाइ छ । “त्यो पनि हिँड्न सकुञ्जेल हो, अब कसरी चुलो बाल्ने हो ?” बिलौना गर्दै उहाँले भन्नुभयो, बल्ल घरमा बस्न पाएँ, अब कसरी पेट पाल्ने हो ?

समस्यामा परेको उहाँलाई पाँचखाल नगरपालिका–२ को समन्वयमा सो सस्थाले घर बनाएर हस्तान्तरण गरेको हो । सरकारबाट प्राप्त रु तीन लाख रकममा रु एक लाख पचास हजार थप गरी स्वयंसेवकहरु खटाएर घर निर्माण गरिदिएको सो सस्थाका परियोजना अधिकृत सिमराज दनुवारले जानकारी दिनुभयो । “ महिलाले पाटीमा नै बास गरेको देखेपछि वडा कार्यालयसँगको समन्वयमा घर निर्माण गर्न आवश्यक सहयोग गरेका हौँ ।” उहाँले भन्नुभयो ।

सोही स्थानका कृष्णप्रसाद चौलागाईको पनि आर्थिक अभावमा घर निर्माण गर्न नसकेपछि सोही संस्थाले घर निर्माण गरिदिएको छ । उहाँको मात्रै होइन, सोही वडाका जलढुङ्गामा रहेका अर्का एकल महिला तथा ज्येष्ठ नागरिक गुणलक्ष्मी श्रेष्ठको पनि सोही संस्थाको सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । ८४ वर्षीया श्रेष्ठ छोरी सुशीला श्रेष्ठको सहारामा बस्दै आउनुभएको छ । उहाँलाई खानपान र अन्य आवश्यक सहयोग नातिनी रस्मी श्रेष्ठले गर्दै आउनुभएको छ । यसअघि उहाँ पनि जस्ताको टहरामा नै बस्दै आउनुभएको थियो । संस्थाले निर्माण सम्पन्न गरी घर हस्तान्तरण गरिदिएको भए पनि राम्रोसँग नसुकेको कारण अझै केही दिन टहरामा नै बस्ने उहाँले बताउनुभयो । “घर बनाइदिएर धेरै ठूलो गुण लगाउनुभएको छ, धेरै खुशी छु ।” उहाँले भन्नुभयो ।

सो वडाका वडाध्यक्ष हरि खतिवडाले वडाभित्रका गरिब असहायका लागि लाभग्राहीको सूचीमा परे पनि घर बनाउन नसकेकाहरुको सूची तयार गरी सहयोगी संस्थाको सहयोगमा १० घर परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयोे । “यस वडाका अझै ५०÷६० वटा घरहरु जो गरिबी, असहाय र आर्थिक अवस्था न्यून भएकै कारण बनाउन सकिरहेको छैन ।” उहाँले भन्नुभयो, “त्यसका लागि प्रयत्न भइरहेको छ ।”

आर्थिक अवस्था कमजोर भएकाहरुमध्ये पनि अति नै विपन्न अवस्थामा रहेकाहरुका लागि नगरपालिका र वडा कार्यालयको समन्वयमा आफूहरुले घर निर्माण गरी सहयोग गरिदिने गरेको सस्थाका देशीय निर्देशक कृष्टि स्टिकनीले जानकारी दिनुभयो । “अति विपन्न र असहायहरुको घर निर्माण गरी सुरक्षित आवासभित्र भित्र्याउन पाएका छौँ ।” उहाँले भन्नुभयो, “भूकम्प प्रभावित जिल्लामा मात्रै नभई देशैभरिका विपन्न नागरिकहरुका लागि घर बनाएर सहयोग गर्दै आएका छौँ ।”

ग्लोबल भिलेजको सहयोगमा स्वयंसेवक परिचालन गरी विपन्न परिवारको घर निर्माणमा ८५ वटा घर निर्माण गरी सहयोग पु¥याएको थियो । साथै दक्ष र अदक्ष डकिर्मी तालीम, निःशुल्क नक्सा निर्माण गरिनुका साथै हालसम्ममा प्राविधिक सहयोग तथा निर्माण सम्पन्न गरी एक हजार ६४७ घर निर्माण गरिसकेको सो सस्थाले जनाएको छ ।

Leave a Reply