\
राष्ट्रिय समाचारसमाचार

च्यातिएको पशु सेवा केन्द्रको बोर्ड

काठमाडौँ, १३ माघ । सङ्घीय संरचनाअनुसार जिल्ला पशु सेवा कार्यालयअन्तर्गतको पशु सेवा केन्द्र स्थानीय तह मातहत गएपछि च्यातिएको बोर्डसमेत फेरिन सकेको छैन । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित भूमिस्थलीमा रहेको पशु सेवा केन्द्रको बोर्ड च्यातिएको दुई वर्षभन्दा बढी भयो । बढीमा रु एक हजारसम्म लाग्ने फ्लेक्स बोर्ड फेर्ने अधिकार कार्यालयलाई नभएको पशु विकास अधिकृत दामोदर पाण्डेले बताउनुभयो ।

“कार्यालय नगरपालिकाअन्तर्गत आएपछि हामीलाई बोर्ड फेर्ने अधिकार पनि छैन, डेढ वर्षअघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइराला तालीमका क्रममा केन्द्रमा आउनुभएका बेला च्यातिएको बोर्ड देखाएका थियौँ, उहाँले बनाएर पठाउँछु भन्नुभएको थियो, तर अझै बोर्ड फेरिएर आएन”, उहाँले भन्नुभयो ।

च्यातिएको बोर्ड जिल्ला पशु सेवा कार्यालयअन्तर्गतकै बेलाको हो । संरचना परिवर्तन भएपछि नै त्यसअनुसारको बोर्ड कार्यालयमा राख्नुपर्ने हो । तर यसतर्फ कसैको ध्यान जान सकेको छैन । जिल्ला पशु सेवा कार्यालयअन्तर्गत केन्द्र सञ्चालन हुँदासमेत सानोतिनो काममा पनि जिल्ला कार्यालय नै पुग्नुपर्ने बाध्यता रहेको कर्मचारी बताउँछन् ।

सङ्घीय संरचनाअनुसार कार्यालय पुनःसंरचना भएपछि सेवा प्रवाहमा सहज हुने भनिए पनि केन्द्रमा त्यस्तो नदेखिएको सेवाग्राही कविता भण्डारीले गुनासो गर्नुभयो । केन्द्रले नगरपालिकाको आर्थिक विकास शाखालाई बोर्ड फेर्ने सम्बन्धमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि बोर्ड नआएको पशु विकास अधिकृत पाण्डेको भनाइ छ । पशु, कृषिलगायत सेवा केन्द्र नगरपालिकाको आर्थिक विकास शाखाले हेर्ने जनाइएको छ ।

कर्मचारीमा बोर्ड नभएपछि कार्यालयको हो कि होइन थाहा हुँदैन त्यसपछि सेवा प्रवाह गर्नु नपर्ने सोचले नै च्यातिएको बोर्ड फेर्न ध्यान नगएको हुनसक्ने स्थानीय रामबहादुर तामाङले बताउनुभयो । बोर्डमा लेखिएको पशु सेवा केन्द्र भन्ने शब्दसमेत स्पष्ट देखिँदैन । पहिलोपटक बोर्ड देख्ने मानिसले कुन कार्यालय हो भन्ने ठम्याउन नसक्ने उहाँको गुनासो छ । जसका कारण पटकपटक सेवाग्राही कार्यालय भेटिएन भन्दै फर्कने गरेका छन् ।

नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना केही दिनमै केन्द्रमा बोर्ड बनाएर पठाउने बताउनुहुन्छ । “यो समस्याका बारेमा कार्यपालिकामा थाहा नभएर हो, आजै स्टोरमा बुझेर बोर्ड बनाउन लगाउँछु” उहाँले भन्नुभयो । नयाँपाटीको पशु सेवा केन्द्रले गोकर्णेश्वरभर सेवा प्रवाह गर्नुपर्छ । राजधानीको काठ क्षेत्र भएको नगरपालिका भएकाले अहिले पनि यहाँ धेरै मानिसको मुख्य काम पशुपालनसमेत छ । पशुमा कुनै रोग लागेमा किसान केन्द्र पुग्ने गर्छन् । केन्द्रमा पशुमा कृत्रिम गर्भाधानका लागि आउने सेवाग्राहीको भीड लाग्ने गर्छ ।

साउनदेखि पुस मसान्तसम्म केन्द्रमा कृत्रिम गर्भाधान गराउन आउने गाईको सङ्ख्या एक हजार १५८ छ । भैँसीको सङ्ख्या २३ मात्र रहेको केन्द्रले जनाएको छ । राजधानीकै काठ क्षेत्रमा समेत भैँसी पाल्ने किसानको सङ्ख्या घट्न थालेको छ । प्रायः किसानले उन्नत जातका गाई पालन गरेका छन् । गोकर्णेश्वरमा बाख्रा पालन गर्ने क्रमसमेत घट्न थालेको छ । शहरीकरण बढ्दै जान थालेपछि चरीचरणको अभावले समेत बाख्रा पालक कृषक घट्न थालेका हुन् । साउनदेखि पुससम्मको छ महिनाको अवधिमा ६१ बाख्रामा मात्र कृत्रिम गर्भाधान गरिएको अभिलेख कार्यालयमा रहेको पशु विकास अधिकृत पाण्डेले सुनाउनुभयो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको वडा नं १ को मूलखर्क, ओखरेनी, चिलाउनेलगायत बस्तीमा धेरै बाख्रापालन हुने गरेको छ । यातायात सुविधा नभएको र केन्द्रबाट टाढा रहेकाले यहाँका बाख्रामा कृत्रिम गर्भाधान गराउन नसकिएको हो । यो बस्तीमा बोकासमेत पालिने गरेकाले प्राकृतिक गर्भाधानबाटै बाख्रा व्यवसाय फस्टाएको केन्द्रले जनाएको छ ।

सेवाग्राही भने कार्यालयमा जनशक्ति कम हुँदा पशु बिरामी भएर जाँदा कर्मचारी भेट्न नसकिने गरेको गुनासो गर्छन् । हाल कार्यालयमा तीन प्राविधिक र एक कार्यालय सहयोगी गरी चारको दरबन्दी छ । सेवा स्थलगत (फिल्ड) मै गएर दिनुपर्ने र कार्यक्षेत्र नगरपालिकाभर भएकाले पनि जनशक्ति थप हुनुपर्ने सेवाग्राहीको माग छ ।

Leave a Reply