\
राष्ट्रिय समाचारसमाचार

क्षतिग्रस्त संरचना निर्माणमा ढिलाइ

कृष्ण दर्नाल पाल्पा, ३ माघ । चारवर्ष अघिको विनाशकारी महाभूकम्पले क्षतिग्रस्त पाल्पाका निजी तथा सरकारी भवनको पूनःनिर्माण अझै सम्पन्न हुन सकेको छैन । पुनःनिर्माण कार्य पूरा नहुँदा लाभग्राहीले सास्ती खेप्नु परेको छ । क्षतिग्रस्त ४ हजार ६९४ निजी आवाशमध्ये हालसम्म १ हजार ७३२ परिवारको पूनःनिर्माण भएका छन् । २ हजार ९६२ भूकम्पपीडितका निजी घर बन्न सकेको छैन ।

नीतिगत समस्याका कारण पहिलो र दोस्रो किस्ता पाउन सफल भएपनि मापदण्ड अनुसारका घर ठड्याउन सकेका छैनन् । पुनःनिर्माण हुन नसक्दा किस्ता निल्नु न ओकल्नु भएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी तथा सरकारी, विद्यालयका भवन निर्माणमा ढिलासुस्तीले सर्वसाधारणले आशैआशामा चार वर्ष बिताउनु परेको हो । आर्थिक रूपमा कमजोर वर्गका लागि सरकारले पुनःनिर्माणका लागि प्रदान गर्ने चार लाख अपुग हुँदा झनै समस्या खेपेका छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिद्वारा आयोजित २२औंँ भूकम्प सुरक्षा दिवसमा प्रदेश नं ५ का सांसद नारायण आचार्यले भूकम्पका कारण क्षतिग्रत संरचना असार महिनाभित्र सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले भूकम्पबाट क्षतिग्रस्त घर बनाउन पहिलो किस्ता लिई पूनःनिर्माण कार्यमा सहभागी नहुनेलाई सूचीबाट हटाउनुपर्ने बताउनुभयो ।

जिल्लाको तिनाउ गाउँपालिकाको कोलडाँडामा भूकम्पबाट झत्केका घर निर्माणकार्य पूरा भएको बताउँदै उहाँले अरु स्थानमा पनि सोही अनुसारको निर्माण कार्य पूरा गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिनुभयो । प्रदेश सांसद पुरनमान बज्राचायले भूकम्पका कारण क्षति भएका संरचना निर्माण अब ढिलाइ हुन नहुने बताउनुभयो । चार वर्षको अवधिमा निर्माणकार्य पूरा हुन नसक्दा सेवाग्राही हैरानीमा छन् ।

पाल्पाका प्रजिअ उमेशकुमार ढकालले चार वर्षसम्म पुनःनिर्माणका कार्यसम्म नहुँदा थप चुनौती सिर्जना भएकोले छिटोछरितो रुपमा काम सम्पन्न गर्नुपर्ने बताउनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाइका इञ्जिनीयर सुरेशराज गिरीले स्थानीय स्रोत र साधनका भरिपूर्ण प्रयोग भूकम्प प्रतिरोधात्मक घर बनाउन सकिने बताउनुभयो । तर, पछिल्ला वर्ष पक्की भवनप्रति आकर्षण भएपछि त्यस्ता भवनमा गुणस्तरहीन सामानको प्रयोगले घर जोखिममा रहेको बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख अन्नत सुनारले भूकम्पबाट क्षतिग्रस्त ११६ विद्यालयमध्ये एक–एक कोठे १०३ निर्माण भइसकेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले नेपालमा प्राकृतिक विपत् र गैरप्राकृतिक विपत्का कारण जोखिम रहिरहने हुँदा सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले गाउँपालिकाका प्रत्येक वडामा विपत् व्यवस्थापनका लागि समिति गठन भएको बताउनुभयो । उहाँले विपत् सम्बन्धी स्थानीय तहमा तालीम सञ्चालन गरी वडा, दुई प्रहरी चौकी, सेना तथा सशस्त्र प्रहरीलाई विपत् व्यवस्थापनका लागि चाहिने औजार प्रदान गरिएको बताउनुभयो ।

पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले स्थानीय तह र आयोजना कार्यान्वयन एकाइबीच प्रभावकारी समन्वयन हुन आवश्यकता महसुस भएको बताउनुभयो । दुई कार्यालयबीच प्रभावकारी समन्वय गर्न सकेको अवस्थामा छिटो काम सम्पन्न हुनेमा आशावादी रहेको बताउनुभयो । पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिकामा भूकम्पबाट प्रभावित छन् ।

नेपाल पत्रकार महासंघका राजेशकुमार अर्याल र स्थानीय वृद्धिजीवी वृद्धिप्रसाद शर्माले भूकम्पका कारण क्षतिग्रस्त निजी तथा सरकारी, विद्यालयका भवन निर्माण छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो । विसं ०७२ सालको ७.८ रेक्टरको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचना निर्माण नहुँदा जिल्लावासी चिन्तित छन् ।

Leave a Reply