पक्राउ परेका चिनियाँलाई डिपोर्ट गर्ने कि सुपुर्दगी ?
पुस १०, काठमाडौं । नेपालमा बसेर चीनमा आर्थिक अपराध गरिरहेको आरोपमा सोमबार पक्राउ परेका १ सय २२ जना चिनियाँलाई डिपोर्ट गर्ने कि सुपुर्दगी भन्ने द्विविधा भएको । चिनियाँ विदेश मन्त्रालयले पक्राउ परेकाहरु ‘सीमापार अपराध र साइबर क्राइममा संलग्न’ रहेको बताएको छ भने काठमाडौँ जिल्ला अदालतले उनीहरुलाई ‘अभद्र व्यवहार’ कसुरमा पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमित दिएको छ ।
परराष्ट्र, गृह र कानुन मन्त्रालयका केही अधिकारीले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका बेला भएको समझदारीअनुसार ‘पारस्परिक कानुनी सहायतासम्बन्धी’ प्रबन्ध आकर्षित हुन सक्ने बताएका छन् भने केहीले उनीहरु डिपोर्टेसनमा पर्न सक्ने जनाएका छन् । ‘यी चिनियाँ नागरिकको गतिवधिबारे केही अघि नेपाल सरकारलाई जानकारी भएको हो,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।
यता, तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरुलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको छ । रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन चीनको विदेश मन्त्रालयले नेपालस्थित दूतावासमार्फत सरकारलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।
‘यु आइहाई, जहाङ जोङमोउ र क्यु क्विङलाई पक्रउ गर्न इन्टरपोल चीन र त्यहाँको विदेश मन्त्रालयबाट पत्र आएको हो । चीनमा अपराध गरेर भागेका आफ्ना नागरिकको निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली अहिले काठमाडौँमै छ । चिनियाँ दूतावासले पठाएको पत्र परराष्ट्र, गृहमन्त्रालय हुँदै मंसिर तेस्रो साता प्रहरी कार्यालय पठाइएको थियो । त्यसको जानकारी अध्यागमन विभागलाई पनि दिइएको छ ।
अध्यागमन विभाग स्रोतले उनीहरु कहिले नेपाल आएको भन्ने विवरण दिन चाहेन । रेड नोटिसधारी विदेशी नेपालको अध्यागमन कानुन छलेर कसरी भित्रिए भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।