\
राष्ट्रिय समाचारसमाचार

बरगाछी–रोडशेष चोक : वर्षात्अगावै सम्पन्न गर्ने प्रतिबद्धता

विराटनगर, ८ जेठ । विराटनगर रानी–इटहरी–धरान सडक आयोजनाअन्तर्गत सुस्त गतिमा निर्माण भइरहेको छ लेनको बाटो निर्माणकार्य सम्पन्न नहुँदा विराटनगर क्षेत्रमा समस्या बढ्दै गएको नगरवासीको भनाइ छ ।

लामो समयदेखि बनिरहेको सो सडक कहिले निर्माण व्यसायीको कारण त कहिले विद्युत् प्राधिकरण या सडक डिभिजन कार्यालयको ढिलासुस्तीले सडक निर्माणकार्य सम्पन्न हुनसकेको छैन । नगरवासीले बाटोका विषयमा व्यापक विरोध गर्न थालेपछि बरगाछीदेखि रोडशेषसम्मको सडकखण्डको कालोपत्र गर्ने काम वर्षात्अगावै सक्ने सहमति भएको छ ।

आयोजनाअन्तर्गतका सडक र नालीको मङ्गलबार गरिएको अनुगमनका क्रममा सो सहमति भएको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको समन्वयमा आयोजनाका प्रमुख बद्रीप्रसाद शर्मा, ठेकेदार कम्पनी टुन्डीरमणका सिभिल इञ्जिनीयर आनन्द ठाकुर, क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख भरत न्यौपाने, इञ्जिनीयर घनश्याम काफ्लेलगायतको टोलीले अनुगमन गरेको हो ।

विराटनगरस्थित बरगाछीदेखि रोडशेषसम्मको भागमा वर्षात्को समय अगाडि नै कालोपत्र गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । यसका लागि रात दिन समय लगाएर काम गर्ने ठेकेदार कम्पनी टुन्डीरमणका सिभिल इञ्जिनीयर ठाकुरले बताउनुभयो । सो क्रममा प्रमुख पराजुलीले छ लेन आयोजनाको काममा भइरहेको ढिलासुस्तीले विराटनगरका सहायकमार्ग निर्माणमा समेत ढिलाइ भएको भन्दै तत्काल काम सक्न आग्रह गर्नुभयो ।

महानगगरको सहायकमार्गमा जोडिएका सबै सडक जोडिने स्थानमा कल्भर्ट निर्माणमा भएको ढिलाइका कारण डुबान समस्या सिर्जना हुनसक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो । आयोजनाले बनाएका सडक र नालीसँग जोडिएका सबै शाखा बाटो ‘क्लियर’ नहुँदा पानी जम्ने खतरा बढेको छ । वर्षात्को समय नजिकिँदै जाँदा उत्पन्न समस्या समाधानका लागि उचित विकल्प निकाल्न आफूले आयोजनालार्ई जानकारी दिइसकेको प्रमुख पराजुली बताउनुभयो ।

परियोजना प्रमुख शर्माले विराटनगर रानी–इटहरी–धरान सडक आयोजनाअन्तर्गत सडकका भाग खण्डीकरण गरी विभिन्न समयमा बोलपत्र लागेकाले कामको प्रकृति ढिलो हुन गएको स्वीकार गर्दै अब काम चाँडै सम्पन्न हुने र यसका लागि सबै क्षेत्रबाट दबाब बढिरहेको छ भन्नुभयो ।

सडकको काममा हुने ढिलाइले सुनसरीको खनारस्थित फुटबलका राष्ट्रिय खेलाडी शम्भु बाँस्तोला केही दिनअघि सडक छेउको निर्माणाधीन नालामा लडेर घाइते भएको र पछि उपचारकै क्रममा निजको मृत्यु भएको थियो ।

यसैगरी, धरान विराटनगर सडकखण्डको पहडगछदेखि उत्तरतर्फ छ लेनको सडक केही दूरीमा निर्माणकार्य सम्पन्न भए पनि सडकको बीच भागमा नेपाल विद्युत् प्राधिकरणको बिजुलीको खम्बा दर्जनौँ सडकमा उभिरहेको देखिएका छन् । यस्ता खम्बाले दिउँसो केही अप्रिय घटना नभए पनि रातको समयमा सवारी दुर्घटना बढ्नसक्ने भएकाले प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले प्राधिकरण र सडक डिभिजन प्रमुखलाई तत्काल खम्बा व्यवस्थित गर्न निर्देशन पनि दिनुभएको छ । (रासस)

Leave a Reply