नाइजेरियामा खुला दिसामुक्त अभियान
अबुजा, २७ बैशाख । नाइजेरिया सरकारले सन् २०२५ सम्ममा सरसफाईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले खुला दिसामुक्त अभियान सञ्चालन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ ।
जलस्रोत मन्त्री सुलेमान अदामुले उक्त अभियान सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । उहाँले राष्ट्रिय अभियान सफल बनाउन अन्तर्राष्ट्रिय दाताबाट पनि सहयोगका लागि आग्रह गरिएको बताउनुभयो ।
“स्वच्छ नाइजेरिया, शौचालयको प्रयोग बढाऔं” नारा दिइएको यस कार्यक्रममा आमजनतालाई सक्रिय सहभागी गराइने पनि मन्त्री सुलेमानले बताउनुभयो ।
नाइजेरियाका ७७४ वटा स्थानीय निकायमध्ये १० वटामा मात्र खुला ठाउँमा दिसा गर्न प्रतिबन्ध लगाइएको छ । पश्चिम अफ्रिकी मुलुक नाइजेरियाका करिब २१ हजार समुदाय मात्र खुला दिसाबाट मुक्त रहेको पनि मन्त्री अदामुले जानकारी दिनुभयो ।
नाइजेरियाली सरसफाईको अवस्था अत्यन्त नाजूक रहेकाले खुला दिसामुक्त राष्ट्रिय अभियानले आवश्यक रहेको बताइएको छ । मन्त्री अदामुले नाइजेरियाका झण्डै चार करोड ७० लाख मानिसले अझै पनि खुला ठाउँमा दिसा गर्ने गरेको बताउनुभयो ।
खुला ठाउँमा दिसा गर्ने मुलुकहरुको विश्वश्रेणीमा भारत पहिलो र नाइजेरिया दोस्रो स्थानमा रहेका छन् । भारतले पछिल्ला चार वर्षमा व्यापक सरसफाई अभियान सञ्चालन गरी स्वच्छता बढाएको छ । भारतले सरसफाईका क्षेत्रमा गरेको सुधारका कारण अब नाइजेरिया पहिलो स्थानमा आउने सम्भावना बढेको पनि मन्त्री अदामुले जानकारी दिनुभयो ।
नाइजेरियामा खानेपानीको सुविधा पनि निकै लाजलाग्दो अवस्थामा छ । पाइपबाट खानेपानीको सुविधा प्राप्त गर्नेहरुको संख्या सन् १९९० मा ३२ प्रतिशत रहेकामा त्यो घटेर सन् २०१५ मा त्यो ७ प्रतिशत पुगेको छ । उन्नत सरसफाईमा पनि सन् १९९० मा ३८ प्रतिशत रहेकामा सन् २०१५ मा २९ प्रतिशत भएको छ । (रासस/सिन्ह्वा)