\
राष्ट्रिय समाचारसमाचार

औलोको जोखिम कायमै

१२ वैशाख, डडेल्धुरा । सन् २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिविधि भए पनि औलोको जोखिम कायमै छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा अझै औलोको जोखिम रहेको पाइएको हो ।विश्व स्वास्थ्य सङ्गठनको निर्णयअनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन अर्थात आज विश्व औलो दिवस मनाइन्छ । स्वास्थ्य सस्था र सरोकारवाला निकायले औलो निवारण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि सुदूरपश्चिमका पहाडी जिल्लामा समेत औलोको प्रकोप अझै देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

यस अवसरमा डडेल्धुरा सदरमुकाममा जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकारसँगको अन्तक्र्रियामा सुदूरपश्चिम पनि औलोको जोखिममा रहेको बताइएको हो । डडेल्धुरामा चालू आर्थिक वर्षको हालसम्म औलोका आठ बिरामी भेटिएको छ भने डडेल्धुरासँगै पाहाडी जिल्ला डोटी अछाम, दार्चुला, बैतडी, बझाङसमेत औलोको जोखिममा रहेको उक्त कार्यालयले जनाएको छ ।

विदेशबाट फर्कने नेपालीमा औलोको सङ्क्रमण देखिने गरेको उक्त कार्यालयका भेक्टरकन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिनुभयो । औलो रोग निवारण गर्न सम्बन्धित स्वास्थ्यचौकीमार्फत् आमा समूहसम्म विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका ३१ वटा वडा औलोको उच्च जोखिमा छन् भने ९१ वडा मध्यम जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । डडेल्धुरा जिल्लाको पनि भित्री मधेशमा पर्ने पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकामा औलोको बढी जोखिम रहेको भेक्टरकन्ट्रोल सुपरभाइजर भट्टको भनाइ छ । लामखुट्टेको टोकाइका कारण मानिस तथा अन्य केही जनावरमा सर्ने औलो प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । लामखुट्टेको टोकाइबाट परजीवी शरीरमा प्रवेश गरेमा १० देखि १५ दिनमा लक्षण देखिन थाल्छ ।

घर–घर तथा समुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शङ्कास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा बचाउन सकिने चिकित्सक बताउँछन् ।

औलोका आयातीत बिरामीले जोखिम

नारायणपुर– क्रमशः घट्दो दरमा रहेको औलोको सङ्क्रमण घटेपनि जोखिम भने कायमै छ । लामो समयदेखि औलो रोगको सङ्क्रमण दर घट्दो मात्रामा छ, तर भारतलगायत बाह्य देशबाट भित्रिने नागरिकमा यो रोगको सङ्क्रमण बढी देखिएको तथ्याङ्कले देखाएको छ । दाङमा चालू आर्थिक वर्षमा आठ जनालाई औलो रोगको सङ्क्रमण देखिएकामा छ जना भारतबाट आएका व्यक्तिमा यो रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । सङ्क्रमितमध्ये तुलसीपुरका पाँच, राप्तीका पाँच र बबई गाउँपालिकाका एक थिए ।

“स्थानीयस्तरमा हुने सङ्क्रमण र देश बाहिर गएका व्यक्तिले लिएर आउने सङ्क्रमण गरेर दुई प्रकारको सङ्क्रमण छ ।” जिल्ला स्वास्थ्य कार्यालयका कमल चन्दले भन्नुभयो, “स्थानीयस्तरमा हुने सङ्क्रमणमा कमी आए पनि भारतलगायतका विभिन्न देशबाट फर्किने व्यक्तिमा बढी सङ्क्रमण भएको देखिएको छ ।”आर्थिक वर्ष ७३÷७४ मा ३४ मा देखिएकोमध्ये ३१ देश बाहिरबाट आएकामा औलोको सङ्क्रमण थियो । आव २०७४÷७५ मा २७ मा औलोको सङ्क्रमण भएकामा २४ बाहिरबाट आएका व्यक्ति रहेको उहाँले बताउनुभयो ।

औलाबाट सन् २०१२ देखि अहिलेसम्म कुनै पनि बिरामीको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितले बताउनुभयो । सन् २०१२ मा तत्कालीन घोराही नगरपालिका औलोको उच्च जोखिम क्षेत्र भएकामा विभिन्न कार्यक्रम आयोजनाले जोखिम न्यून भएको उक्त कार्यालयले बताएको छ । कार्यालयका अनुसार अहिले बबई गाउँपालिकाको वडा नं ५ र ७, राप्ती गाउँपालिकाको ९, शान्तिनगर गाउँपालिकाको ६ र तुलसीपुर उपमहानगरपालिका–१३लाई मध्यम जोखिम क्षेत्रको रुपमा लिइएको छ ।

यी जोखिम क्षेत्रमा सचेतनामूलक कार्यक्रम गर्ने, सुपानेट झुल वितरण गर्नेलगायतका कार्यक्रम छन् । “जोखिमको हिसाबले जिल्ला नै जोखिमपूर्ण हो तर पछिल्लो कार्यक्रमले केही सुधार देखिएको छ ।” प्रमुख पण्डितले भन्नुभयो, “एउटामात्र बिरामी देखियो भने त्यो क्षेत्र नै जोखिमपूर्ण क्षेत्रको रुपमा देखापर्छ ।” सरकारले सन् २०२६ सम्म औलो नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

बाँकेमा औलोेको जोखिम अझै

राँझा– आयातित विरामीका कारण बाँके जिल्लामा औलो रोगको जोखिम अझै देखिएको छ ।अन्य रोगको तुलनामा औलो उन्मूलनउन्मुख भएपनि आयातित विरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण संयोजक दुर्गा गौतमले बताउनुभयो । चालु आर्थिक वर्षको पुससम्म बाँकेमा औलो रोगका ३७ विरामी फेला परेकामा तीन मात्रै स्थानीय विरामी रहेको उक्त कार्यालयले जनाएको छ ।

“स्थानीय विरामीलाई शून्यमा झारेर यहाँको लामखुट्टेबाट औलो नसरोस् भन्ने हाम्रो लक्ष्य हो ।”गौतमले भन्नुभयो–“त्यसका लागि स्थानीय तहबाटै औलोरोग विरुद्धको सचेतना कार्यक्रम सञ्चालन भएको छ भने सबै स्वास्थ्य संस्थाबाट औलोको जाँच र औषधि निःशुल्क वितरण भईरहेको छ ।”

औलो सङ्क्रमित विरामीको उपचार नभएमा लामखुट्टेको माध्यमबाट यो रोग सर्ने भएकोले विदेशबाट आएका र स्वदेशका ज्वरोका विरामीले २४ घण्टाभित्रै जाँच गर्नुपर्ने उहाँको सल्लाह छ ।

रगत जाँचका क्रममा एकजनामा सङ्क्रमण देखिएमा विरामीको घरलाई केन्द्र मानेर एक किलोमिटर वरिपरि वा वस्तीका कम्तीमा पचास घरपरिवारमा जाँच गर्ने गरिएको छ ।

विगतमा औलो प्रभावित जिल्ला भनेर चिनिने बाँके पछिल्लो समयमा सुरक्षित बन्दै गएपनि जोखिम भने कायमै रहेको उक्त कार्यालयका निमित्त प्रमुख प्रेम केसीले जानकारी दिनुभयो ।

नेपाल सरकारले औलो रोगीको संख्या सन् २०२२ सम्ममा शून्यमा पु¥याउने र सन् २०२५ सम्म नेपाललाई औलोमुक्त देश बनाउने लक्ष्य लिएको छ । नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क हुने निमित्त प्रमुख केसीले जानकारी दिनुभयो । (रासस)

Leave a Reply