फेवा किनारमा शिवपार्वती !
२१ चैत, पोखरा । पोखराको फेवातालमा हुने ताल बाराही सन्ध्या आरतीका समयमा दुई विदेशी नागरिकलाई शिव र पार्वतीको भेषमा देख्न सकिन्छ । निधारमा खरानी, रुद्राक्षको माला, कमण्डलु, डमरुसहित शिव पार्वतीका तस्वीर अगाडि राखेर ध्यान मुद्रामा देखिने उनीहरु त्यहाँ आउने पर्यटकका लागि आकर्षकको पात्र बनेका छन् भने भेटी पनि निकै हात पारेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने सो स्थलमा गैह्रहिन्दू शिव पार्वतीको भेषमा सजिएर बसिरहेको दृश्यले जो कोहीको ध्यान आकृष्ट गरेको पाइन्छ । उनीहरुसँग विभूति लगाउने र आशीर्वाद लिनेको घुइँचो उस्तै छ ।
शिव पार्वतीको भेषधारी उनीहरु बोल्न भने धेरै रुचाएनन् । आफ्नो परिचय दिने क्रममा पुरुषले ऋषि भारती र महिलाले माया भारती भएको परिचय दिए । कुन देशबाट आउनु भएको हो भनी सोद्धा उनीहरु पृथ्वीमाताबाट आएको भनी अनौठो जवाफ पाइन्छ । उनीहरु दम्पती भने नभएको जिकिर गर्छन् ।
धेरै प्रश्न गरेपछि उनीहरुले आफूहरु दश वर्षदेखि नेपाल र भारतमा बस्दै आएको र पोखरा तीन दिनअघि आएको बताए । आत्मकल्याणका लागि हिन्दू धर्म अनुसरण गरेको बताउने उनीहरुले सोधेको प्रश्नको संस्कृत, हिन्दी र अँग्रेजी भाषा मिश्रित लवजमा एकदम छोटो जवाफ दिन्छन् । सो स्थानदेखि साढे पाँच किलोमिटर दूरीमा रहेको सनातन आश्रममा बस्ने गरेको उनीहरुको भनाइ छ ।
उनीहरु तीन दिनदेखि सन्ध्या आरतीका समयमा मात्रै देखिने गरेको स्थानीयवासीले बताए । त्यहाँ पुग्नेले उनीहरुलाई पैसा चढाउँछन्, तस्वीर खिंच्छन् । सेतो विभूति लगाइदिएर आशीर्वाद दिएझैँ गुनगुनाउँछन् ।” त्यहाँ आउने पर्यटकले रु १० देखि माथि रु पाँच सय, रु एक हजारसम्म चढाएर उनीहरुलाई ढोग्ने गरेको स्थानीयवासी प्रत्यक्षदर्शी सुनील क्षेत्रीले बताए । एक घण्टाको बसाइमा रु पाँच हजारभन्दा माथि रकम सङ्कलन गरेर हिँड्ने गरेको ती प्रत्यक्षदर्शीको भनाइ छ ।
माता तालबाराही आरती सेवा समितिका सदस्य तुलसी दाहालले केही दिनदेखि देखिएका गैरहिन्दूहरुले शिवपार्वतीको भेषमा पैसा सङ्कलन गर्ने तौरतरिका गजबको लागेको बताउनुभयो । “सन्ध्याको आरती समयलाई लक्षित गरी उहाँहरु शिवपार्वती भेषमा आउने र पैसा सङ्कलन गरेर जाने कुरालाई कति सकारात्मक रुपमा लिन सकिन्छ ?” उहाँले भन्नुभयो, “कोही कसैले हिन्दू धर्म अनुसरण गर्छन् भने त्यो सकारात्मक पक्ष हो तर हिन्दू धर्मको आवरणमा पैसा कमाउने मात्रै धन्दा हो भने त्यसको छानबीन हुनुपर्छ ।”
तालबाराही सन्ध्या आरती २०७५ साल असोज २४ गतेदेखि सञ्चालित छ । दिनको रु चार हजार ५०० देखि रु पाँच हजारसम्म व्यवस्थापकीय खर्च लाग्ने दाहालको भनाइ छ । सन्ध्या आरतीको मौका छोपेर विदेशी नागरिकबाट भइरहेको यस्तो गतिविधिले भक्तजनमा भ्रम सिर्जना हुने उहाँले बताउनुभयो । यो गतिविधिलाई तत्काल रोकेर छानबीन गर्नुपर्ने उहाँको माग छ । “हिन्दूको भेषमा गैर हिन्दूको यो रुपको सत्यतथ्य बाहिर आउनुपर्छ । यदि उहाँहरुले हिन्दू धर्म नै अनुसरण गर्नुभएको हो भने पनि प्रक्रिया र कानूनी तरीकाबाट यसलाई स्वीकृत गरिएको छ कि छैन त्यो पनि सरोकार निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछाने सोे विषयमा छानबीनका लागि पहल गरिने बताउनुभयो । आफूले पनि भर्खर मात्र सो विषयमा थाहा पाएकाले वास्तविकता बुझ्न पहल गरिने र सोहीअनुसार अगाडि बढ्ने उहाँले बताउनुभयो ।
पोखरा पर्यटन प्रहरीका प्रहरी नायब निरीक्षक टीकाराम पौडेलले सो विषयमा कहीँ कतैबाट उजुरी नपरेको भन्दै सोबारेमा तुरुन्तै बुझ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यदि यस्तो हो भने आज बेलुका हामी निगरानी गर्छौँ । उहाँहरुको भिसासहित अन्य पक्षको अनुसन्धान गर्छौँ ।” (रासस)