पर्र्यटन परियोजना छनोट भएकोमा खुसी
१५ चैत, दमौली । सरकारको आयोजनामा आजदेखि काठमाडौँमा शुरु भएको लगानी सम्मेलनका लागि तनहुँको ब्यास नगरपालिकाको पर्यटन परियोजना छनोट भएपछि स्थानीय सरकारमा उत्साह छाएको छ । पर्यटन पूर्वाधार क्षेत्र अन्तर्गत दमौली बहुउद्देश्यीय पर्र्यटन परियोजना सम्मेलनका लागि छनोट भएपछि नगरपालिकामा उत्साह छाएको हो ।
काठमाडौँबाट १५० र पोखराबाट ५० किमी दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल सहितको संरचना निर्माणका लागि सरकारले लगानी सम्मेलनमा प्रस्ताव गरेको छ । नगरपालिकाको धेरै वर्ष पहिलादेखि मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल बनाउने योजनालाई सरकारले प्राथमिकतामा राख्नु खुशीको कुरा भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।
मादी नदीमा कृत्रिम ताल निर्माणका लागि प्रदेश सरकारसँग समेत पटक/पटक छलफल भएको र अहिले आएर सङ्घीय सरकारले नै यसको अपनत्व लिँदा उत्साह जागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग धेरै चरणको छलफल ग¥र्यौ, यो परियोजनाको लागि प्रदेश सरकार सकारात्मक रह्यो, अहिले सङ्घीय सरकारकै तर्फबाट लगानी सम्मेलनमा योजना छनोट भएर प्रस्ताव हुनु समग्र जिल्लाकै लागि गौरवको विषय हो ।”
न्यौपानेका अनुसार परियोजनाको विषयमा लगानी बोर्डसँग समेत पटक/पटक छलफल भएको थियो । लगानी बोर्डका तर्फबाट प्राविधिकसहितको टोलीले कृत्रिम ताल निर्माण गर्ने ठाउँको सम्भाव्यता अध्ययनसमेत गरेको थियो । उहाँले भन्नुभयो, “अध्ययनपछि यस ठाउँमा कृत्रिम ताल निर्माण गर्न उपयुक्त छ भन्ने निष्कर्षसहित परियोजना प्रस्ताव भएको छ, यो योजनाले दीर्घकालीन महत्व राख्छ ।” लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत हुने ५० योजनामा सो परियोजना पर्नु गौरवको विषय भएको नगर प्रमुख न्यौपानेको भनाइ छ ।
वडा नं ३ र ५ को बीच भागमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको नगरपालिकाका योजना शाखा प्रमुख इञ्जिनीयर राजु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त परियोजनाको कुल लागत रु ६ अर्ब रहेको छ । परियोजनालाई सरकारी निजी समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । जमीन अधिग्रहण, कानूनी प्रक्रियाको जिम्मेवारी सरकारको रहेको छ भने डिजाइन र निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई दिने सरकारको प्रस्ताव छ ।
परियोजनामा एक तिहाइ लगानी सरकारको रहनेछ । निर्माण शुरु भएको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त परियोजना निजी क्षेत्रले ३० वर्षसम्म सञ्चालन गर्नेछ । उक्त समयपछि परियोजना सरकारलाई हस्तान्तरण गरिनेछ । परियोजना अन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, पाँच सय क्षमताको सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायतका संरचना निर्माण हुनेछन् । परियोजना निर्माणले वेदव्यासभूमिको विकासमा ठूलो टेवा पुग्ने नगर प्रमुख न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो ठाउँ काठमाडौँ र पोखराको नजिक भएकाले पर्यटकलाई आकर्षित गराउन सहयोग पुग्नेछ ।” नगरपालिका र प्रदेश सरकारबीच तालको विस्तृत सम्भाव्यता अध्ययनका लागि सहमति समेत भइसकेको छ ।
देवघाटमा सिसी क्यामरा जडान
देवघाटमा सीसी क्यामरा जडान गरिएको छ । देवघाट क्षेत्र विकास समितिले मुख्य स्थानमा सीसी क्यामरा जडान गरेको हो । समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मुख्य स्थानमा १६ वटा सिसी क्यामरा जडान गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा समितिको कार्यालय, समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रम लगायतका स्थानमा सिसी क्यामरा जडान गरिएको छ । जडान गरिएका सबै क्यामेरा भरतपुरका युवा व्यवसायी सुजन ओझाले सहयोग गर्नुभएको हो । सिसी क्यामरा खरीद र जडानका लागि ओझाले रु दुई लाख ५० हजार खर्च गरेको घिमिरेले जानकारी दिनुभयो ।
पूर्वीय संस्कृतिको अध्ययन केन्द्र र विश्वकै हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटमा दैनिक सयौं भक्तजन आउने भएकाले सुरक्षाको लागि सिसी क्यामेरा जडान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । समितिका अनुसार निकट भविष्यमै देवघाट प्रवेश गर्ने चितवन र तनहँु जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुलको दुवै तर्फ, चितवन तर्फको बसपार्क, दाहसंस्कार गर्ने स्थान तथा अन्य स्थानमा समेत सिसी क्यामरा जडान गरिनेछ ।
क्यामेरा जडान गरेपछि समयमा कर्मचारी आउने, वृद्धाश्रममा बस्ने वृद्धवृद्धाको सामग्री सुरक्षा हुने, आउने अतिथिले दिने सामग्रीको अभिलेख राख्न सहज भएको घिमिरेले जानकारी दिनुभयो । समितिले देवघाटको मुख्य स्थानमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म प्रहरी परिचालनसमेत गरेको छ । घिमिरेले भन्नुभयो, “रातिको समयमा हुने असुरक्षालाई ध्यान दिएर यस्तो निर्णय गरिएको हो ।”
खाने तेलको गुणस्तर परीक्षण
जिल्ला प्रशासन कार्यालय तनहुँले दमौलीमा सञ्चालित होटलमा खानेकुरा पकाउन प्रयोग गरिने तेलको गुणस्तर परीक्षण गरेको छ । खाद्यप्रविधि तथा गुणनियन्त्रण विभाग बबरमहल काठमाडौँको समन्वयमा होटलमा प्रयोग हुने तेलको गुणस्तर परीक्षण गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको नेतृत्वमा ब्यास नगरपालिका–२ को सन्तोष होटल, ब्यास नगरपालिका–३ को सुरेश मिष्ठान्न भण्डार, ओम खाजा घर, ब्यास नगरपालिका–४ को हरि मिष्ठान्न भण्डार, ब्यास नगरपालिका–५ को माउण्टेन भ्यु रिसोर्टको अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा केही होटलमा खानेकुरा प्रयोग गरिने तेलको गुणस्तर कमजोर भेटिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तेलको गुणस्तरमापन गर्ने यन्त्रमा २० भन्दा कम सङ्केत (हरियो) देखाएमा तेल खानयोग्य हुनेछ । उहाँका अनुसार उक्त यन्त्रमा २१ देखि २४ सम्म (पहेंलो) देखाएमा जोखिम र त्यो भन्दामाथि देखाएमा खान अयोग्य हुन्छ । सुवेदीका अनुसार एक पटक प्रयोग गरेको तेल पुनःअर्को पटक प्रयोग गर्न हुँदैन । (रासस)