\
राष्ट्रिय समाचारसमाचार

पौभा थाङ्का शान्तिका प्रतीक

१ चैत, चिप्लेढुङ्गा । मौलिक र परम्परागत शिल्पकलाको महत्वलाई उजागर गर्दै नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यले पोखरमा तीनदिने थाङ्का/पौभा शिल्पकला प्रशिक्षण कार्यशाला शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)को परम्परागत शिल्पकला विभागको आयोजनामा भएको सो कार्यशालाको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै मौलिक कला संस्कृति नै राष्ट्रको पहिचान भएकाले यसको संरक्षण र प्रवद्र्धनमार्फत आर्थिक रुपान्तरणमा जोड दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “परम्परागत शिल्पकला विदेशी पाहुनाका लागि उपहारका रुपमा प्रयोग गरेर विदेशमा कलामार्फत देशको प्रचारमा लाग्नुपर्छ ।” महानगरले कलाको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुुभयो । सिर्जनशील कलाकार समूहका संयोजक वरिष्ठ व्यङ्ग्यचित्रकार वात्स्यायनले ध्यानले निर्मित थाङ्का पवित्रताको उत्कृष्ट रुप भएको बताउनुभयो । कपडामा लेखिएका देवीदेवताको चित्र पौभा वा थाङ्का शान्तिको प्रतीक रुपमा बौद्धमार्गीले अझ बढी प्रयोग गरेको गरेको उहाँको भनाइ थियो । समयअनुसार यसको मौलिकतालाई अहिले आधुनिक चित्रकारहरुले प्रयोग गर्ने गरेको बताउँदै उहाँले यस प्रशिक्षणले यसको महत्वलाई उजागर गरेको बताउनुभयो ।

नाफाका निवर्तमान चित्रकला विभाग प्रमुख रमेश श्रेष्ठले थाङ्का ÷पौभामार्फत देशको अनुहारलाई विश्वमा चिनाएको बताउनु भयो । उहाँले कार्यशालाले कलाको सुन्दर दिनको शुरुआत गरेको बताउनुभयो । थाङ्का एवं पौभा अभिलेखीकरण गरिएको सन्देश भएको कलात्मक रुप भएको भन्दै यसको ऐतिहासिक र परम्परागत महत्व रहेको बताउनुभयो ।

नाफाका परम्परागत शिल्पकला विभागका प्रमुख बुद्धिबहादुर गुरुङले मौलिक एवं परम्परागत कलाकृतिको कारणले नेपाल विश्वमा चिनिएको बताउँदै नयाँ पुस्तालाई परम्परागत शिल्पकलाको शास्त्रीय, सैद्धान्तिक र व्यावहारिक ज्ञानसहितको सीप हस्तान्तरणसँगै यसको संरक्षण र प्रवद्र्धनका लागि कार्यशालाको आयोजना गरिएको जानकारी दिनुभयो । कास्कीको धम्पुसमा कलाकार पदमबहादुर लामा, छेवाङदोर्जे लामा र इन्द्रसागर तामाङले प्रशिक्षण दिने सो कार्यशालामा गण्डकी प्रदेशका १२ कलाकारको सहभागिता रहेको कलाकार भूमराज चौलागाईंले जानकारी दिनुभयो । (रासस)

Leave a Reply