नयाँ फारम भर्ने कार्यक्रमको कार्यान्वयनमा समस्या
३० फागुन, बलेवा । मालपोत कार्यालय बागलुङमा सेवाग्राहीका लागि नेपाल सरकारले शुरुआत गरेको नयाँ फारम कार्यान्वयनमा समस्या देखिएको छ । लेखापढी कानूनी व्यवसायीले गर्दै आएका मालपोतको काजपत्रको काम सेवाग्राही आफैँले गर्ने गरी बनाइएको नियम कार्यान्वयनमा समस्या देखा परेको हो ।
मालपोत कार्यालयमा गत पुस २२ गतेदेखि लागू हुने गरी सेवाग्राही आफैँले फारम भर्ने व्यवस्था लागू गरिएको भए पनि फागुनको अन्तिमसम्म पनि लेखापढी व्यवसायीले नै काम गर्दै आएका छन् । कार्यालयले सेवाग्राहीलाई कामका लागि भर्नुपर्ने फारम उपलब्ध गराउन सकेको छैन् ।
कार्यालयको अनलाइन प्रविधिमार्फत सबै काम हुने भएकाले सेवाग्राही आफैँले अनलाइनमार्फत फारम लिएर भर्नुपर्ने व्यवस्था रहेको मालपोत कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । कार्यालयले फारम उपलब्ध गराउन नसक्नुको फाइदा उठाउँदै लेखापढी व्यवसायीले पुरानै शैलीमा काम गरिरहेका छन् ।
नयाँ नियम शुरुआत भएको केही दिनसम्म कार्यालय प्रवेशमा रोक लगाइएका लेखापढी व्यवसायीले पछिल्लो समय निर्वाध रुपमा कार्यालय परिसरमा बसेर सेवाग्राहीका काम गर्ने गरेका छन् । “सेवाग्राही आफैँले उहाँहरुलाई खोजेर ल्याउनुहुन्छ”, कार्यालय प्रमुख शर्माले भन्नुभयो, “हामीले नयाँ फारममा नै काम गरिरहेका छौँ, उहाँहरुले जसरी ल्याउनु हुन्छ, त्यसैगरी काम हुन्छ ।”
सेवाग्राहीले आफैँले फारम भर्दा वा लेखापढी व्यवसायीले फारम भर्दा दुवै अवस्थामा कार्यालयले काम गरिरहेको शर्माको जवाफ थियो । सरकारले बनाएको नयाँ फारममा केही नयाँ महलको व्यवस्था गरिएकाले पनि सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।
सर्वसाधारणलाई फारमको विषयमा जानकारी नहुँदा लेखापढी व्यवसायीकै सहायता लिएर काम गर्ने गरेका छन् । जग्गाको रजिष्टे«शन, धितो रोक्का फुकुवा, लिलामलगायतका काम मालपोत कार्यालयमार्फत हुने गरेका छन् । दैनिक २५ देखि ३० सेवाग्राहीको काम हुने कार्यालयमा अधिकांश काम लेखापढी व्यवसायीमार्फत नै हुने गरेका छन् ।
“मालपोतको फारम भरेर बस्ने समय छैन, व्यवसायीलाई लिएर गएपछि तत्कालै काम बन्छ”, आफ्नो जमीन अर्कैको कित्तामा परेपछि सच्चाउनका लागि लेखापढी व्यवसायी खोज्दै हिँड्नुभएका सेवाग्राही सोम पाठकले भन्नुभयो, “आफैँले गरे हुने हो तर उहाँहरुमार्फत काम गर्दा समय बच्छ ।” लेखापढी व्यवसायीले कार्यालय परिसरभित्र र बाहिर बसेर सेवाग्राहीका काम गर्दै आएका छन् ।
गत पुस २२ गतेदेखि बागलुङसहितका केही जिल्लाबाट शुरु भएको नयाँ नियमका कारण लेखापढी व्यवसायीको रोजीरोटी गुमेको भन्दै उनीहरु आन्दोलित भएका थिए । कार्यालय परिसरमा बसेर काम गर्दै आएका व्यवसायीलाई सोही मितिदेखि लागू हुने गरी काम नगर्न भन्दै कार्यालयले सूचनासमेत प्रकाशित गरेको थियो ।
नयाँ नियम कार्यान्वयनमा आएको दिनदेखि नै आन्दोलनमा रहेका लेखापढी व्यवसायीले एक साता पनि नबित्दै पुरानै तवरले काम शुरु गरेका थिए । कार्यालयले पछिल्लो समय लेखापढी व्यवसायीलाई कुनै पनि बन्देज लगाएको छैन । “हामीकहाँ हुने काम एजेण्टको जस्तो होइन, उहाँहरुले कागज पत्र बनाएर ल्याउने मात्रै हो, काम गर्ने कर्मचारीले नै हो”, मालपोत अधिकृत शर्माले भन्नुभयो, “कार्यालयभित्र आउने सेवाग्राही र लेखापढी व्यवसायीको अधिकार समान हुन्छ ।”
पर्यटन सँगै खेलकूद
पर्यटकीय गन्तव्यका प्रचारप्रसारका लागि बागलुङको एक युवा समूहले नयाँ प्रयास थालेको छ । प्रसिद्ध पर्यटकीय गन्तव्य पञ्चकोट धामको प्रचारप्रसारका लागि प्रथम पञ्चकोट गोल्ड कप फुटबल आयोजना हुने भएको हो ।
बागलुङ नगरपालिका–६ मा रहेका युवा तथा खेलकूद विकास समितिले खेलका माध्यामबाट पञ्चकोटको प्रचारका लागि गोल्ड कप आयोजना गरेको हो । फागुपूर्णिमा अवसर पारेर प्रतियोगिताको आयोजना गर्ने समितिका अध्यक्ष विदुर सुवेदीले जानकारी दिनुभयो । आगामी चैत ७ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी थालिएको छ ।
प्रतियोगितामा वडास्तरीय १४ समूह सहभागी हुने सुवेदीले जानकारी दिनुभयो । बागलुङमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि फुटबल प्रतियोगिता आयोजना भएको यो पहिलो घटना हो । “हामीले पञ्चकोटमा पर्यटन बढाउने लक्ष राखेका छौँ”, सुवेदीले भन्नुभयो, “अन्य क्षेत्रजस्तै खेलकूदको क्षेत्रले पनि प्रचारप्रसारमा सघाउन सक्छ भन्ने लागेर प्रथम गोल्डकप आयोजना गरेका हौँ ।” पहिलो प्रयास भएकाले नमूनाका रुपमा यो प्रतियोगितालाई हेरिने सुवेदीले बताउनुभयो ।
गोल्ड कपको दोस्रो संकरणमा यसको क्षेत्र विस्तार गर्ने र देशभरिका उत्कृष्ट समूह सहभागी हुने गरी प्रतियोगिता आयोजना गर्ने लक्ष्य समितिले बनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ३५ हजार तथा द्वितीयलाई रु २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समितिका अध्यक्ष सुवेदीले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि रु तीन लाखको खर्च हुने अनुमान गरिएको छ । पर्यटन क्षेत्रको विकासमा युवाको सक्रियतालाई सम्मान गर्न भन्दै वडा कार्यालयले रु एक लाख सहयोग गर्ने जनाएको छ । (रासस)