\
राष्ट्रिय समाचारसमाचार

औद्योगिक व्यवसाय विधेयक प्रस्तुत

२९ फागुन, कास्की । गण्डकी प्रदेशसभाको आजको बैठकमा ‘औद्योगिक व्यवसाय विधेयक’ विधायन समितिको प्रतिवेदनसहित सभामा प्रस्तुत गरिएको छ ।

गत माघ १५ गते सभामा टेबल भई दफावार छलफलका लागि विद्यायन समितिमा पठाइएको सो विधेयक समितिका सभापति मोहनप्रसाद रेग्मीले प्रतिवेदनसहित सभामा प्रस्तुत गर्नुभएको हो ।

आजको शून्य तथा विशेष समयमा प्रदेशसभा सदस्यले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले सङ्घीय सरकारले सिके राउतसँग गरेको सम्झौतामा उल्लेख भएको जनअभिमत भन्ने शब्दलाई जनमतसङ्ग्रहका रुपमा व्याख्या गरेर सरकारको कदमको अतिरञ्जित तरिकाले प्रचार गरिएको बताउनुभयो ।

प्रदेशसभा सदस्य कुमार खड्काले नेत्रविक्रम चन्दको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय अलोकतान्त्रिक भन्दै नेकपालाई पनि सहमतिका माध्यमबाट मूलधारमा ल्याउन माग गर्नुभयो । अर्का सदस्य दीपक कोइरालाले पर्यटन भिसामा घुम्न आउने भारत, चीनलगायत तेस्रो मूलुकका पर्यटकले पोखराका विभिन्न ठाउँमा बसेर व्यापार गर्ने गरेको भन्दै त्यसलाई रोक्न सरकारसँग माग गर्नुभयो ।

प्रदेशसभा सदस्य पियारी थापाले सदस्यले सदनमा उठाएका विषयमा सरकारले ठोस जवाफ नदिएको भन्दै सांसदले मन्त्रीसँग रोष्टममा प्रश्न सोध्न पाउने अधिकार कुण्ठित नगर्न आग्रह गर्नुभयो । अर्का सदस्य धनमाया लामाले नेपाल टेलिकमको कार्ड रिचार्ज गर्दा तुरुन्त व्यालेन्स शून्य हुने, डाटा छिटो सकिने, कुनै कार्ड पहिल्यै रिचार्ज भइसकेको हुने जस्ता समस्याबाट आफूलगायत सर्वसाधारण पीडित भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । बैठकमा प्रदेशसभा सदस्य मीना गुरुङ, धनमाया लामा, भागवतप्रकाश मल्ललगायतले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।

बैठकको शून्य तथा विशेष समयमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मनाङ मुस्ताङलगायत जिल्लामा हिमपातका कारणले स्थानीयका पशुपक्षी तथा फलफूलमा भएको क्षतिबाट पीडित ५५ कृषकलाई राहत उपलब्ध गराउने प्रयोजनका लागि निवेदन माग गरिएको बताउनुभयो ।

उहाँले मन्त्रालय तथा भेटेरीनरी अस्पतालबाट पशु चिकित्सकसहित टोली सो क्षेत्रमा पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा कार्यान्वयन गर्ने कार्यक्रमका लागि मन्त्रालयले कार्यविधि निर्माण गरेर कार्यक्रमको प्रस्ताव आह्वान गरेको, नमूना फार्म स्थापना र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमको शुभारम्भ गर्न लागिएको, प्रदेशका दुई नाकामा द्रुत विषादी चेकपोष्ट स्थापनाको तयारी, सहकारी ऐन निर्माणलगायतको उपलब्धि हासिल भएको सदनमा जानकारी गराउनुभएको थियो । प्रदेशसभाको आगामी बैठक चैत १ गते बस्ने कार्यक्रम छ । (रासस)

Leave a Reply