\
राष्ट्रिय समाचारसमाचार

एक दशकपछि भैरव स्मृति उद्यान सफाइ

२४ फागुन, काठमाडौँ । वर्षौँदेखि ताला थुनेर फोहर फाल्ने स्थान बनेको वरिष्ठ हाँस्यव्यङ्ग्य रचनाकार भैरव अर्यालको नाममा स्थापना भएको भैरव स्मृति जोरपाटी उद्यान अभियानकर्मीको एक हप्ते प्रयासपछि सफा बनेको छ ।

जोरपाटीचोकमा विसं २०६३ मा निर्माण भएको उद्यान त्यसैबेलादेखि तालाबन्दी गरी राखिएको थियो । तत्कालीन जोरपाटी गाउँ विकास समितिको अग्रसरतामा निर्माण भएको उद्यान सफा गर्नका लागि खोल्न कसैको ध्यान जान सकेको थिएन । वाग्मती सुन्दरता सरोकार मञ्चले स्थानीयवासीको साथ लिई एक हप्तासम्म सफा गरेपछि उद्यान छिर्न लायक हुने भएको छ ।

उद्यानअघि नै फोहर थुपारेर दैनिक प्लाष्टिक जलाउँदा जोरपाटी क्षेत्रमा वातावरणीय प्रभाव बढेको थियो । उद्यान सफाइपछि नियमित खुला गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

टोलटोल सफाइ अभियान

यसैगरी घरबाटै वाग्मती सफाइ प्रारम्भ गरौं भन्ने आग्रहसहित गोकर्णेश्वर नगरपालिका– ८ र ९ को सिमानामा पर्ने आरुबारी क्षेत्रको आज सफाइ शुरु भएको छ । कार्यक्रममा वडा नं–९ का वडाध्यक्ष राजीव थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, मञ्चका संयोजक उत्तम पुडासैनी लगायतले सफाइको शुरुवात् गर्नुभएको थियो ।

शनिबार बिहान यस क्षेत्रको वाग्मती सफाइ गर्दै आएको मञ्चले प्रत्येक शुक्रबार टोल टोलमा सफाइ गर्न आजैदेखि शुरु गरिएको कार्यक्रम संयोजक मुना रुपाखेतीले बताउनुभयो ।

वडाध्यक्ष थापाले एक हप्तामा अनुभूत हुनेगरी वडाभर सफाइ गर्ने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाका प्रमुख सल्लाहकार रिसालले सफा गोकर्णेश्वर अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा मञ्चका संयोजक पुडासैनीले आरुबारी क्षेत्र पूर्ण रुपमा सफा नभएसम्म प्रत्येक दिन सफाइमा जुट्ने जानकारी दिनुभयो । सफाइ अभियानमा सामाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

Leave a Reply