प्रादेशिक नक्सा तयार
२२ फागुन, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रादेशिक नक्सा तयार गरेको छ ।
मुलुकको परिवर्तित संरचनाअनुसार तयार पारिएको उक्त नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा नामकरण हुन बाँकी प्रदेशको नम्बर उल्लेख गरिएको छ । यसअघि तयार भएको पाँच विकास क्षेत्रको अन्त्य भई अब सातै वटा प्रदेशसँग जोडिएका जिल्ला तहसम्मका सीमाका साथै ठूला नदी, सडक तथा प्रमुख लोकमार्गसमेत राखिएको छ ।
नापी विभागले संरचना तयार गरेको उक्त नक्सा सरकारी तथा गैरसरकारी संस्थाले आधिकारिकरुपमा अब छिट्टै प्रयोगमा ल्याउने मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जानकारी दिनुभयो । स्थानीय तहको चुनावपछि नक्साको संरचना तयार गर्न शुरु गरिएकामा त्यसको प्रशासनिक सीमा विभाजन गर्न समय लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नयाँ नक्सा बिहीबार सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । नक्सा सार्वजनिक भएपछि स्थानीय तहलाई केन्द्रित गरी अर्को नक्साको प्रारुप विकास गर्ने लक्ष्य राखिएको छ । (रासस)